२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


च्यासल मैदानमा धमाधम काम


0
Shares

काठमाडौं, साउन ९ । ललितपुरको च्यासल स्थित एन्फा टेक्निकल सेन्टरमा मैदान बनाउने काम यतिबेला धमाधम भइरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) को लगानीमा निमार्ण भइरहेको मैदान असार मसान्त सम्म सक्ने लक्ष्य लिए पनि विश्वभरीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मंसिरसम्म लम्बिएको छ ।

उमेर समूहका खेलदेखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रुप लिँदै छ ।

३० करोड लगानीमा निमार्ण गर्न लागिएको मैदानलाई स्तरोन्नती गरेर अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने लक्ष्यका साथ अहिले काम भइरहेको छ ।

मैदानलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माणको थालिए पनि त्यो सम्भव हुन सकेन ।

१२ हजार दर्शक क्षमताका साथ निर्माण सुरु भएको मैदानमा अहिलेसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको छ ।

डाँफे, प्रेरा र प्रतिष्ठा जेभिले संयुक्त रूपमा निर्माण गरिरहेको आयोजनाको ५ प्रतिशत काम मात्रै बाँकी रहेपनि कोरोनाका कारण मंसिर सम्मका लागि सरेको प्रोजेक्ट म्यानेजर महेश मंगल जोशीले बताउनुभयो ।

लकडाउनका कारण रोकिएको काम जेठ २२ गतेबाट सुरु भएको थियो । आयोजनाको म्याद मंसिरसम्म थप गरिएपनि भदौ मसान्तमा हस्तान्तरण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

वि.स. २०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजना अनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्यारापेट बढाइएको छ  ।

पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ । बागमती नदिको किनार भएकाले वर्षायामा बाढी रोक्न पर्खाल बनााइएको छ ।

अहिले उक्त क्षेत्रमा बागमतीको पानीले कटान गरेको छ भने मैदानमा बाढी पस्ने अवस्था छ ।

त्यसका राखेपले विपद व्यवस्थापन महाशाखा समक्ष २ करोड माग गरेको छ ।

निमार्ण सम्पन्न पछि राष्ट्रिय खेलकुद परिषदले रंगशाला व्यवस्थापनका लागि एन्फालाई प्रदान गर्ने तयारी छ ।

आयोजना सम्पन्न भए मैदानका लागि दशरथ रंगशालामा निर्भर हुनु पर्ने अवस्था हट्ने विश्वास गरिएको छ ।