
एजेन्सी, साउन १२ । अमेरिका र चीनबीचको पछिल्लो तनावको शिकार अन्ततः ३५ वर्षदेखि सिचुवान प्रान्तको छेन्दुमा रहेका अमेरिकी महावाणिज्य दूतावास भएको छ ।
सोमबारदेखि बन्द गरिएको चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानको राजधानी छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास यस अर्थमा पनि निकै महत्वपूर्ण मानिन्थ्यो कि यो रणनीतिक महत्वको तिब्बतसँगै जोडिएको थियो ।

यो कार्यालय बन्द भएको हेर्न र दृष्यमा कैद गर्न चिनियाँहरुको ठूलो भीड लागेको समाचार संस्थाहरुले जनाएका छन् । लगातारको वर्षाको बीचमा पनि चिनियाँहरु छाता ओढेर मोबाइलमा अमेरिकी कार्यालय बन्द भएको दृष्य कैद गरिरहेका थिए ।
महावाणिज्य दूतावास बन्द भएको हेर्न हेनान, हुबई, सियानलगायत टाढाटाढा प्रान्तबाट मानिसहरू छेन्दु आएका थिए भने कतिले कार्यालय नगएरै यो अवसर छुटाएका थिएनन् ।
कति महावाणिज्य दूतावास देखिने गरी सेल्फी खिच्दै थिए भने कतिपयले चिनियाँ झन्डा बोकेर राष्ट्रवादी गीत गाइरहेका थिए ।
टेक्सासको ह्युजटनमा रहेको आफ्नो महावाणिज्य दूतावास बन्द गराएको बदलामा शुक्रबार चीनले छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।
७२ घण्टे अल्टिमेटम सकिएलगत्तै अमेरिकाले कार्यालय बन्द गराएको हो । ७२ घण्टे समय सकिएलगत्तै आफ्ना कर्मचारीहरु कार्यालयमा प्रवेश गरेको चिनियाँ विदेश मन्त्रीले जानकारी दिएका छन् ।
चिनियाँ सरकारको यो निर्णयबाट आफूहरु दुःखी भए पनि तिब्बतसहित दक्षिण पश्चिम चीनका विषयमा अब अरु कार्यालयबाट हेरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
तिब्बतनजिक जोडिएको प्रान्तमा सन् १९८५ मा स्थापित उक्त महावाणिज्य दूतावास बन्द हुनु अन्तर्राष्ट्रिय राजनीतिको महत्वपूर्ण घटना भएको चिनियाँहरुले प्रतिक्रिया दिएका छन् ।
केहीले भने यो कार्यालय फेरि खुल्ने आशा गर्दै चीन र अमेरिकाले आपसी सहकार्य राक्दा त्यसले सम्पूर्ण संसारलाई नै राम्रो नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्