२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला साढे ९७ हजार रुपैयाँ


0
Shares

काठमाडौं, साउन १२ । पछिल्लो एक वर्षको अवधिमा नेपाली बजारमा पहेँलो धातुको मूल्यमा भारी वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सो अवधिमा सुनको मूल्यमा प्रतितोला रु. ३२ हजार ५०० ले वृद्धि भएको छ ।

गत साउन १२ गते नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु. ६५ हजार र तेजाबी सुन प्रतितोला ६४ हजार ७०० तथा चाँदीको मूल्य प्रतितोला रु. ७७५ कायम भएको थियो ।

यस्तै, एक वर्षको अवधिमा चाँदीमा पनि प्रतितोला रु. ४३५ वृद्धि भएको छ ।

त्यसयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।

लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यमा सोमबार पनि उच्च वृद्धि भएको छ ।

महासङ्घका अनुसार सोमबार पनि सुनको मूल्य प्रतितोला रु. एक हजार २०० ले बढेको छ ।

महासङ्घले सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला र ९७ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ६० निर्धारण गरेको छ ।

यो अहिलेसम्मकै उच्च हो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु. ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ८६० तोकिएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य लगातार बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा परेको महासङ्घले जनाएको छ ।

मनि मेटल एक्सचेन्जका अनुसार सोमबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस एक हजार ९४२.२० डलर पुगेको छ ।

सुनको मूल्य प्रतिऔँस दुई हजार डलर पुग्ने अनुमान गरिएको छ ।

महासङ्घका अध्यक्ष मोहनकुमार सुनार लगानीकर्ताले सुनलाई सुरक्षित मानेर लगानी गर्दा अन्तर्राष्ट्रियरुपमै मूल्य बढेको बताउनुहुन्छ ।

सुन प्रतितोला झण्डै रु. एक लाख पुग्नै लागे पनि यसको कारोवार भने ठप्प रहेको उहाँको भनाइ छ । रासस