३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


एउटी सत्याग्रही आमाको पुकार, ‘मलाई टुँडिखेलमा लगेर फाँसी देओ’


0
Shares

राजन कुईकेल
काठमाडौं, जेठ २४ ।

‘भयो अब धेरै नझुक्याओ, मलाई टुँडिखेलमा लगेर फाँसी देओ’ ।
‘यो देशमा न्याय पाइएला भन्ने विश्वास अब रहेन ।’

यो पुकार हो छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै संघर्ष गरिरहेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको ।

कोखमा नौ महिना राखेर जन्माएको । लाउँ लाउँ खाउँ खाउँको १६ वर्षे कलिलो मुनालाई बिना कारण ठनक्कै निमोठेर माओवादीले हत्या गरेको पनि १५ वर्ष बितेको छ ।

छोराको हत्या गरिएको दिनको सम्झनामा वीर अस्पतालको प्रांगणमा ह्वीलचेयरको सहारामा उपस्थित गंगामायाले भनिन्, अब त मलाई आँशुले पनि धोका दिइसक्यो । खै मेरा आँखामा आँशु ? अब आउन छाडिसके ।

उनले यसो भनिरहँदा न्याय नपाएकी एउटी आमाको ममता चिच्याई चिच्याई उनी भित्रै विद्रोह गरिरहेझै लाग्थ्यो । 

‘छोरालाई माओवादी आततायीहरुले हत्या गरे । हत्यारालाई कार्वाहीको माग गर्ने श्रीमान्लाई राज्यले तड्पाई तड्पाई मार्यो ।’

कहिले क्रोधाग्नी त कहिले पीडा बोकेका मनलाई सान्त्वना दिँदै उनी भन्दै थिइन्, ‘तैपनि मैले आश मारिन । सधै न्यायालयले न्याय देला भन्ने ठानिरहे । तर त्यो निरर्थक रहेछ ।’

गंगामायालाई अदालतले न्याय देला भन्ने निकै ठूलो भरोसा थियो । नहोस् पनि किन, सारा मानिसलाई आशाका सबै त्यान्द्रा चुडिँदा पनि आँखामा पट्टी बाँधेर न्यायको तराजु बोकेकी मूर्ति सामु पर्दा निष्पक्ष न्याय पाउँछु भन्ने मनोबल बढ्छ ।

तर दूर्भाग्य निहित स्वार्थका लागि न्यायको किनबेच हुने आजको समाजमा एउटी निष्कपट न्यायकी याचिका गंगामायामाथि न्याय दिने आश्वासनमा पटक पटक झुलाइयो ।

उनको न्यायको भीखलाई सत्तायात्राको लिस्नो बनाउनसमेत पछि परेनन् अवसरको कुम्ला बोकेकाहरुले । त्यसैले त उनी भन्छिन्,

‘मलाई न्यायको सौदा गर्नेहरुले पटक पटक झुक्याए । भो अब धेरै नझुक्याओ । अस्पतालको कुनामा मर्न चाहन्न । मलाई तीन करोड नेपालीले देख्ने गरी टुँडिखेलमा फाँसी देओ ।’

उनलाई थाहा छ, एउटा कोठाको कुनामा मर्दाको परिणती के हुन्छ भन्ने । उनका श्रीमान् नन्दप्रसाद अधिकारीलाई पनि त यसैगरी तड्पाई तड्पाई मारेको थियो निर्दयी राज्यसत्ताले ।

दम्पत्ति नै न्यायका लागि आमरण अनशन बस्दाबस्दै नन्दप्रसादको अनशनका क्रममा ३३४ औं दिन सरकारकै नियन्त्रणमा मृत्यु भएको थियो । तर गंगामाया यसलाई मृत्यु मान्दिनन्, यो त सरकारले सुनियोजित रुपमा जानजान गरेको हत्या हो, उनको निष्कर्ष छ ।

अनशनकै क्रममा आफ्नी पत्नीको सानिध्यमा ६ असोज २०७१ मा वीर अस्पतालको शैयामै प्राण त्यागेका नन्दप्रसादको आजसम्म अन्त्येष्टी गरिएको छैन । पाँच/पाँच वर्षसम्म उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सडाएर राखिएको छ ।

जिवित हुँदा त न्याय पाएनन् पाएनन्, मर्दा पनि नन्दप्रसादले न्याय पाउन सकेनन् । एउटा व्यक्तिको अवशानपछि उसको सामाजिक संस्कार अनुरुप हुनुपर्ने अन्त्येष्टीसम्मको हकबाट पनि उनलाई बञ्चित गरेको छ, यो राज्यले ।

त्यसैले त त्यही टिचिङको शवगृहबाट निष्प्राण नन्दप्रसाद गिज्याइरहेका छन्, मुलुकमा विधि र कानुनको शासन हुनेछ भन्दै रातोदिन भुक्ने दुःखी आत्माहरुलाई ।

दिवंगत श्रीमान्समेतलाई सम्झँदै उनी भन्छिन्, ‘सारा दुनीयाँलाई थाहा होस्, नेपाल भन्ने देशमा न्याय बिकेको छ । अपराधीहरुको राज छ । पीडितका लागि न राज्यसत्ता, न न्यायालय । केही बचेको छैन ।’

उनको यो क्रोध स्वाभाविक किन छ भने, अन्तिम आशा रहेको अदालतले पनि गंगामायाको संवेदशीलतामाथि पटक पटक खेलवाड गर्यो । कतिसम्म घिनलाग्दो दृश्य देखिए भने आफ्नो वृत्तिविकासका लागि गंगामायाको न्यायको मुद्दालाई सौदाबाजीसम्म गरियो ।

हुनपनि आज राज्यसत्तामा यस्तै वर्गको बोलवाला बढेको छ । आवाजविहीनहरुको गला दबाइन्छ । शक्तिहीनहरुको न्याय ठाडै किनबेच हुन्छ । इजलाश नै मिलेमतोमा संलग्न भएको विषय बारम्बार छताछुल्ल हुन्छ । तैपनि कसैलाई किञ्चित लज्जा हुन्न ।

अरु त अरु पैसाको प्रभावमा के कतिसम्म हुँदो रहेछ भन्ने त प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै सर्लक्क बेच्नसक्ने क्षमता र तिनै अपराधीलाई बचाउन संवैधानिक निकायदेखि शक्तिकेन्द्रहरु लागेको देख्दा गंगामाया निराश किन नओउन् ।

१५ वर्षअघि आजकै दिन २४ जेठ २०६१ मा माओवादीले हत्या गरेका आफ्नो कान्छो छोराप्रति भावविह्वल हुँदै वीर अस्पताल अगाडीको गेटमा ह्विलचेयरको सहारामा गंगामायाले जे भनिन् थप उनकै मुखबाट यो भिडियोमार्फत्,