
काठमाडौं, साउन १२ । राष्ट्रिय परीक्षा वोर्डले एक साता भित्र विद्यालय स्तरिय (एसईई) परीक्षाको नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
शिक्षा पत्रकार समुहले सोमबार काठमाडौंमा गरेको छलफलमा वोर्डले देशभरका सबै विद्यालयबाट विवरण आईसकेका कारण अब एक साता भित्र नतिजा सार्वजनिक गर्ने जनाएको हो ।
परीक्षा नियन्त्रक राजाराम खकुरेलले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय अनुसार यो साता भित्र नै नतिजा निकाल्ने तयारी भईरहेको जानकारी दिनुभयो ।
विगतमा देशभरका विवरण बोर्डमा ल्याएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेकोमा यसपटक विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि कम हुने अनुमान गरिएको थियो ।
तर, विद्यालयले पठाएका विवरण जिल्लास्थित शिक्षा इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटिहरु पाइएको परीक्षा नियन्त्रक खकुरेलले बताउनुभयो ।
एसईइ मूल्यांकनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिदा केही जिल्लामा समस्या देखिएको उहांको भनाई छ ।
यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैथिए ।
तर कोरोना महामारीका कारण परीक्षा सुरु हुनु एक दिनअघि ५ चैतमा परिक्षा स्थगित गरिएको थियो ।
सरकारले कोभिड–१९ का कारण परीक्षा लिन सक्ने स्थिति नभएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय लिएको हो ।
यसका लागि राष्ट्रिय परीक्षा बोर्डले निर्देशिका समेत जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्