
काठमाडौं, साउन १३ । नेपाली कांग्रेसले हालै केही नेताहरुमाथि गरेको अनुशासनको कार्वाहीप्रति कांग्रेसका केही जिल्ला सभापतिले आपत्ति जनाएका छन् ।
काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुको बैठकले महाधिवेशनको प्रक्रिया आरम्भ भैसकेका समयमा अनेक बहानामा निष्ठावान नेता–कार्यकर्तामाथि छानीछानी कार्वाहीको दण्ड चलाइएको निचोड निकालेका छन् ।
पार्टीको यस्तो कार्यले महाधिवेशनको निष्पक्षतामाथि नै गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यस्ता गतिविधि तत्काल रोक्न पनि माग गरेको नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिनुभएको छ ।
निर्वाचनको बेला बागी उम्मेदवार बन्ने, प्रस्तावक/समर्थक बस्ने सबैजना बिधानत स्वतः पार्टीबाट बर्खास्त हुने प्रष्ट ब्यवस्था भएको भन्दै उनीहरुले नेतृत्वले अहिले आएर विभागहरु गठन गर्न थालेकामा पनि आपत्रि जनाएका छन् ।
केन्द्रमा बुझाइएका क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन, पार्टी प्रणालीभन्दा बाहिरबाट आएका कुनै पनि क्रियाशील सदस्यता नस्वीकार्न, पार्टीमा व्यक्ति/समूहको गूटगत फाइदाका लागि नभित्र्याउन, त्यही बहानामा क्रियाशील सदस्यतामा अनियमितता नगर्न उनीहरुले नेतृत्वलाई सचेत पनि गराएका छन् ।
यसरी नेतृत्वको ध्यानाकर्षण गराउने जिल्ला सभापतिहरुमा नुवाकोट कांग्रेस सभापति केसी, काठमाडौं कांग्रेस सभापति सबुज बाँनिया, काभ्रे सभापति मधु आचार्य, सिन्धुपाल्चोक सभापति विकास लामालगायत हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्