१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेकपाका दुई गूटको बालुवाटारभित्रै अलग अलग छलफल


0
Shares

NCP standing committee kp oli prachanda madhab nepal baluwatar primeminister

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता संघर्षले चरम रुप लिँदै गएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिई एकलौटी रुपमा मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरेपछि अहिले दुबै गूट आन्तरिक छलफलमा छन् ।

स्थायी कमिटी बैठकका लागि नेताहरु बालुवाटार पुगिसकेका समयमा एकाएक ओलीले बैठक स्थगित गरिदिएपछि क्रूद्ध बनेका दाहाल, माधव नेपाललगायतका नेताले बालुवाटारमै आन्तरिक छलफल गर्नुभएको छ ।

ओलीको अनुपस्थितिमै भए पनि स्थायी कमिटी बैठक गर्नुपर्ने पक्षमा दाहाल–नेपालका अधिकांश नेता रहेका छन् । औपचारिक रुप नदिएपनि अनौपचारिक रुपमा स्थायी कमिटीका सदस्यहरु छलफलमा जुटेका छन् ।

ओली पक्ष पनि प्रधानमन्त्री निवासभित्रै दाहाल–नेपालले स्थायी कमिटी बैठक चलाएका त्यसको प्रतिकारको रणनीति बनाउन गूट छलफलमा जुटेका छन् ।

ओलीनिकट संसदीय दलका उपनेता सुवास नेम्बाङले भने स्थायी कमिटी बैठक औपचारिक रुपमा स्थगन भइसकेकाले दाहाल–नेपालले बैठक चलाउन नसक्ने प्रतिक्रिया दिनुभएको छ ।

दाहाल–नेपालले खुमलटारमा गर्ने गरेको बैठक बालुवाटारमा हुने बाहेक उहाँहरुले अरु केही गर्न नसक्ने उहाँको भनाइ छ ।

यसैबीच नेकपामा बामदेव गौतमले गूट बदलेका छन् । दाहाल–नेपाल गूटमा रहेका गौतमले ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्षनै रहने गरी जानुपर्ने भन्दै प्रस्ताव सार्वजनिक गर्नुभएको छ ।

पटक पटक गूट अदल बदल गरिरहनु हुने गौतमले फेरि आफ्ना धारणा परिवर्तन गर्दै ओली गूटतिर लहसिनु भएको नेकपाकै एक नेताले टिप्पणी गरे ।

यसअघि ओलीले मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिदिनुभएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच छलफल र परामर्श हुन नसकेकाले बैठक स्थगित गरिएको जानकारी दिनुभएको थियो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षको सहमति बिनै ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेको भन्दै आफूहरुले नमान्ने प्रतिक्रिया दिनुभएको थियो ।

पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल–माधव नेपालबीचको सत्ता संघर्षका कारण नेकपा फुटको डिलमा पुगेको छ । प्रधानमन्त्री ओली सहमतिमा नआए बहुमतबाटै निर्णय गर्ने निचोडमा दाहाल पक्षीय नेताहरु पुगेका बेला ओलीले बैठक नै स्थगित गर्दिनुभएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीकोको कार्यशैलीका कारण पार्टी र सरकार दुबै चल्न नसक्ने निष्कर्षमा रहेका दाहाल र माधव नेपालसहितका नेताहरुले सोमबार बैठक गरी अब बहुमतबाटै निर्णय लिने पक्षमा उभिनुभएको थियो ।

पछिल्लो पटक साउन ६ गते एक हप्ताका लागि स्थगित बैठक बस्नुपूर्व सोमबार दाहाल–नेपाल खेमाका नेताहरुले अलग्गै छलफल गरेर ओली सहमतिमा नआए बहुमतले निर्णय गर्ने निचोड निकालेका थिए ।

अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन दाहाल–नेपाल पक्षले दबाब दिइरहे पनि ओलीले भने आफूले राजीनामा दिने हो भने त्यही दिनबाट पार्टी एकता भंग हुने भन्दै परिणाम ब्यहोर्न खुल्ला चुनौति दिइरहनुभएको छ ।