
काठमाडौं, साउन १३ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्म निजी आवास पुनः निर्माणमा जम्मा ८५ प्रतिशतले मात्र दोस्रो किस्ता बुझेको पाइएको छ ।
सो अवधिमा दोस्रो किस्ता बुझेकामध्ये जम्मा ७६ प्रतिशतले मात्र तेस्रो किस्ता बुझेका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको तथ्याङ्कअनुसार जम्मा लाभग्राहीमध्ये ९९ प्रतिशतले पहिलो किस्ता बुझेका छन् ।
त्यसैगरी विद्यालयको पुनःनिर्माणतर्फ ७४ प्रतिशत प्रगति भएको जनाइएको छ ।
देशका अति प्रभावित १४ जिल्लाका कूल सात लाख २८ हजार २४३ लाभग्राहीमध्ये एक लाख १८ हजार ३२९ कोे घर निर्माण सम्पन्न भइसकेको छ ।
सिन्धुपाल्चोक, रसुवा, दोलखा र नुवाकोटमा सबैभन्दा बढी पुनःनिर्माणको काम पूरा भएको प्राधिकरणले जनाएको छ ।
कोभिड–१९ पछिको बन्दाबन्दीलगायत अन्य विविध कारणले गर्दा सोचेबमोजिम तोकिएको समयमा काम पूरा नहुने प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले बताउनुभयो ।
प्राधिकरणको विनियममा काम पूरा नभएको अवस्थामा थप एक वर्ष थप्ने भन्ने प्रावधान रहेकाले सो बमोजिम समायावधि थपिन पनि सक्ने उहाँले उल्लेख गर्नुभयो ।
वि.सं २०७२ को भूकम्पपछि त्यही वर्ष पुस १० गते प्राधिकरणको गठन भई लाभग्राहीको तथ्याङ्क सङ्कलन गरी रकम वितरणको काम शुरु भएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्