
काठमाडौं, जेठ २६ । सरकारले ल्याएको गुठी सम्बन्धि विधेयकका प्रावधानको विरोध गर्न उपस्थित प्रदर्शनकारीमाथि सरकारले दमन गरेको छ ।
काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरी लाठी प्रहार गर्दा केही घाइते भएका छन् । प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको थियो ।
संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
माइतीघर मण्डलमा नेवाः देय् दबू, नेवा राजनीतिक अभियान, नेवाः राष्ट्रिय पत्रकार दबूलगायतको आह्वानमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरबाट आएकाहरुको बाक्लो उपस्थिति थियो । सरकारले गुठीको स्वामित्व नै लोप हुने गरी गुठीसम्बन्धि कानुनमा संशोधन गर्न खोजेपछि उनीहरुले विधेयक फिर्ता लिन पटक पटक आग्रह गरेका थिए ।
प्रहरीको हस्तक्षेपपछि माइतीघर मण्डला क्षेत्र तनावग्रस्त बन्यो । डा. महेशमान श्रेष्ठ, अनिश वैद्य पक्राउ परेका छन् भने महेश्वर रञ्जीतकार घाइते भएका छन् । रञ्जीतकारको टाउको फुटेको छ ।
सरोकारवालाहरुले सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उद्देश्यसहित ल्याइएको विधेयकको विरोध गरेका हुन् ।
प्रदर्शनकारीहरुले विधेयक फिर्ता लिन आग्रह गर्दै सार्वजनिक जग्गा व्यक्तिको बनाउन कै लागि विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
गुठी सञ्चालन गरिरहेका व्यक्तिहरूसँग छलफल नै नगरी गुठीयारलाई नै हटाउने प्रावधानसहित विधेयक ल्याएपछि त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा अध्यक्ष रहेको गुठी संरक्षण पुचः समेतले यसको विरोध गरेका छन् ।
सरकारले भूमाफियाको हित गर्नसरोकारवालाहरूसँग छलफल नै नगरी सुटुक्क विधेयक ल्याएको उनीहरुको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्