
मोरङ, साउन १७ । भ्रष्टाचार र अनियमितताविरुद्ध खरो व्यवहार गर्दै आएका विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख उपसचिव प्रेम सञ्जेललाई कुटपिट गरिएको छ ।
सञ्जेललाई शनिबार कार्यकक्षमै महिला कर्मचारीले हातपात गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले उपसचिव सञ्जेलमाथि कार्यकक्षमै करारमा कार्यरत दुई महिला कर्मचारीले कुटपिट गरेको जानकारी दिनुभयो ।
कार्यालय सहयोगी मेनुका सापकोटा र नेत्र भट्टराईले कार्यकक्षमै पसेर कुटपिट गरेको र यसबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ । कार्यालयको टेबलमा रहेका पञ्चिग मेशिन, पेपर वेट, फाइल बोर्ड लगायतले सञ्जेलमाथि प्रहार गरिएको प्रहरीको भनाइ छ ।
कुटपिटमा संलग्न दुबै महिला कर्मचारीले सञ्जेलले अनावश्यक गालीगलौज गर्ने र एकलौटी रुपमा काममा खटाउने गरेकाले पनि कुटपिट गरेको प्रहरीलाई बताएका छन् ।
कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्याल्नुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्