
काठमाडौं, साउन १८ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आइतबार कुराकानी भएको छ ।
प्रधानमन्त्री ओलीसँगको चार दिन लामो संवादहीनता तोड्न आइतबार बिहान अध्यक्ष दाहाल पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार जानुभएको हो ।
प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउन बनाइएका सबै रणनीतिहरु विफल भएपछि अध्यक्ष दाहाल अब ओलीसँग सहमति गरेरै अगाडी बढ्ने मनस्थितिमा पुग्नुभएको बताइएको छ ।
खासगरी पूर्व माओवादी खेमाका अधिकांश नेताले ओलीसँगै मिलेर अगाडी बढ्न दाहाललाई सुझाव दिएपछि उहाँ चरम असन्तोषका बीच पनि ओलीसँगै समाधानको सूत्र खोजन संवादमा फर्कनुभएको हो ।
गत मंगलबार पनि ओलीसँग दाहाल र खनालले प्रधानमन्त्री निवास बालुवाटारमै कुराकानी गर्नुभएको थियो ।
उक्त दिन बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरेपछि दाहाल र खनालले ओलीसँग आपत्ति जनाउँदै आफूहरुले चलाउने बैठकमा सहभागि हुन आग्रह गर्नुभएको थियो ।
ओलीलाई दुबै पदबाट हटाउने अभियानमा दाहाललाई पार्टी नेता माधव नेपाल, खनाल, नारायणकाजी श्रेष्ठलगायतको समर्थन रहेको छ ।
यता र उता गरिरहने नेता बामदेव गौतम भने पछिल्ला दिनमा ओलीको समर्थनमा देखिनुभएको छ ।
प्रधानमन्त्री ओली सहभागि नभएको स्थायी कमिटीका बहुमत सदस्यको भेलाले अध्यक्ष ओलीले एकलौटी रूपमा बैठक रोक्नु विधान विपरीत र अनुचित भएको निर्णय गर्दै अर्को बैठकको मिति ओलीसँगको सहमतिमा तोक्न दाहाललाई जिम्मा दिएको थियो ।
पछिल्ला दिन ओलीको कार्यशैलीको लगातार आलोचना गरिरहनुभएका दाहाल र ओलीबीच सहमति खोज्न दोस्रा तहका नेताहरु लागिरहेका छन् ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउने दाहाल–नेपाल–खनाललगायतका बहुमत नेताले ओलीलाई दुबै पद त्याग्न दबाब दिइरहे पनि उहाँले भने कुने हालतमा पद नछाड्ने बरु सकेको गर्न चुनौती दिइरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्