
काठमाडौं, साउन १८ । कोरोना संक्रमणका कारण कतारमा अलपत्र परेका १५० नेपाली आइतबार स्वदेश फर्किएका छन् ।
आठ जना महिला र १४२ जना पुरुष आइतबार नेपाल फर्किएका हुन् ।
तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीले राजदूतावासले तोकेको फाराम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासमा बुझाएका थिए ।
त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाई स्वदेश फर्काइएको हो ।
दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर्ड उडानबाट उनीहरु स्वदेश फर्किएका हुन् ।
उक्त चार्टर्ड उडान दोहाबाट भएको २१औं उडान उडान हो ।
सरकारले ‘कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदेश फिर्ता गर्नेसम्बन्धी निर्देशिका, २०७७’ स्वीकृत गर्दै विदेशमा अलपत्र नेपालीलाई उद्धार सुरु गरेको छ ।
निर्देशिकाको दफा ६ अनुसार आफ्नै खर्चमा नेपाल फर्कन नसकी अलपत्र परेका कामदारका लागि कोषबाट स्वदेश फिर्ताका लागि रकम व्यहोर्ने जनाइएको छ ।
एक वर्षभन्दा कम रोजगार करार अवधिमा रोजगारी गुमाएका कामदारका लागि लाग्ने हवाई टिकट खर्चको शतप्रतिशत रकम कोषले व्यहोर्नेछ ।
एक वर्ष वा सोभन्दा बढी रोजगार करार अवधिभित्र रोजगारी गुमाएको कामदारको लागि लाग्ने हवाई टिकट खर्चको ७५ प्रतिशत रकम कोषले बेहोर्नेछ भने बाँकी खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्नेछ ।
पुनः श्रमस्वीकृति लिई गएको कामदारका हकमा हवाई टिकट खर्चको ५० प्रतिशत रकम मात्र कोषले व्यहोर्नेछ ।
प्रतिक्रिया दिनुहोस्