
यज्ञराज पाण्डे र सुयेश मानन्धर (ईमेज)
काठमाडौं, साउन १८ । नेकपा स्थायी समिति बैठक अनिर्णित बनिरहेका बेला केन्द्रीय समिति बैठकको माग गरिएपनि बैठक बस्ने/नबस्ने कुनै टुंगो छैन ।
विधानतः ६–६ महिनामा केन्द्रीय समिति बैठक बस्नु पर्ने व्यवस्था भएपनि गत बुधबार प्रचण्ड–नेपाल खेमाका एक तिहाइ सदस्यले आग्रह गरेको बैठकका खास एजेन्डा तय नै नभएकाले ओली पक्षले भने बैठक बस्नुको औचित्य नभएको जिकिर गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको अन्तरिम विधानको धारा ५९ को ४ अनुरुप कमिटीका २५ प्रतिशत सदस्यहरूले लिखित माग गरेको खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बोलाउनुपर्ने वैधानिक प्रावधान छ ।
पार्टी विधानको यही प्रावधानलाई प्रयोग गर्दैै ४ सय ४५ सदस्यीय नेकपा केन्द्रीय समितिका १ सय ५२ जना केन्द्रीय सदस्यले बैठकको मागका लागि अध्यक्षद्वय प्रधानमन्त्री के पी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र बुझाउन खोजेपनि त्यो सम्भव नदेखेर पार्टी महासचिव विष्णु पौडेललाई पत्र बुझाउने प्रयास गरे ।
तर ओलीपक्षका सदस्यहरुको हस्ताक्षर नपरेको पत्रमा बैठकका एजेण्डाको औचित्यनै पुष्टि नभएको भन्दै महासचिव पौडेलले समेत बैठक माग गरिएको पत्र स्वीकार नगर्दा बैठक बस्ने नबस्ने अन्यौल बढेको होे ।
ओलीइतरका नेताहरु भने पार्टीको जारी विवादको निकास केन्द्रीय समितिले नै गर्नुपर्ने अडानमा छन् ।
त्यसो त सचिवालय हुँदै स्थायी समितिमा पुगेको नेकपाको आन्तरिक किचलो स्थायी समितिमा पनि समाधान हुन सकेन ।
तोकिएका एजेण्डामै छलफल नभइ ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा मागिएको स्थायी समितिको बैठक नै अनिश्चित बनेका बेला केन्द्रीय समितिको बैठकले निकास देला त ?
विश्वास गरिहाल्ने आधार भने छैन । पार्टीका अध्यक्षद्वयको सक्रियता र सहमतिमा निर्माण भएको नेकपाको एकता प्रक्रियामा पार्टीका अध्यक्षद्वयले नै विवादको निकास दिनुपर्नेमा पार्टी पंक्तिको जोड नभएको पनि होइन ।
तर सचिवालय र स्थायी समितिमा अनिर्णित बनेको विषयलाई केन्द्रीय समितिमा लगिए यसले झनै अन्योल बढाउने भएकाले केन्द्रीय समिति बैठकको माग औचित्यहीन रहेको ओलीपक्षका नेताको दाबी छ ।
सचिवालय र स्थायी समितिमा अल्पमतमा रहनुभएका पार्टी अध्यक्ष ओलीले स्थायी समितिको बैठक टार्दै आएको दृष्टान्तकाबीच आफू अल्पमतमा रहेको केन्द्रीय समितिको सामना गर्नु होला त ? बैठक बोलाउन राजी हुनुहोला भनिहाल्ने अवस्था छैन ।
गत माघमा बसेको केन्द्रीय समितिले चैतमै महाधिवेशन गर्ने टुङ्गो लगाइसकेकाले अबको केन्द्रीय समिति बैठक किन भन्ने पर्याप्त आधार बैठक माग गर्ने सदस्यहरुले प्रस्तुत गर्न नसकेको र स्थायी समिति बैठक नै अनिश्चितताको घेराकाबीच केन्द्रीय समिति बैठक बोलाउने सम्भावना भने निकै कमजोर देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्