
अक्कल कुँवर (इमेज)
काठमाडौं, साउन १८ । पशुपति क्षेत्र विकास कोषले तयार पारेको गुरुयोजना तत्कालका लागि रोकिएको छ ।
स्थानीय बासिन्दाले संघर्ष समिति नै गठन गरेर आन्दोलन, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको बिरोधपछि १ महिनासम्मका लागि गुरुयोजनाको काम स्थगित गरिएको हो ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आइतबार सरोकारवालाहरुसंग छलफल गरेर एक महिनाका लागि गुरुयोजनाका सम्पूर्ण काम स्थगित गर्नुका साथै सरोकारवाला निकायसंग छलफल गर्नको लागि ३ सदस्यीय समिति गठन गर्नुभएको छ ।
गत पुस १९ गते पशुपति क्षेत्र विकास कोषको बैठकले पारित गरेको गुरुयोजनामा पशुपति क्षेत्रभित्रका पुराना बस्तीहरु उठाउनेसम्मको योजना समेटिएका थिए ।
गुरुयोजनाको विरोधमा स्थानीय बासिन्दाहरुले कोषका पदाधिकारीलाई पदमुक्त गर्नुपर्ने,गुरुयोजना खारेज गर्नुपर्ने र नयाँ गुरुयोजना तयार पार्दा स्थानीयलाई सहभागी गराउनुपर्ने माग राख्दै आएका छन् ।
प्रस्तावित गुरुयोजनाले प्रचलित प्राचिन स्मारक ऐन, नेपालको संविधानको धारा २६,३२ र ३७ को उपधारा १,२ विपरित हुने स्थानीयको तर्क छ ।
गुरुयोजनाबारे संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख,योजना तथा प्रशासन महाशाखा प्रमुख र पुरातत्व विभागका महानिर्देशक सम्मलित समिति गठन गरिएको छ ।
समितिलाई एक महिनाभित्र सरोकारवाला,स्थानीय,सम्बन्धित क्षेत्रका विज्ञ एंव इतिहास र संस्कृतिविद्हरुसंग छलफल गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।
कांग्रेस नेता गगन थापाले गुरुयोजना अनुसार त्यो ठाउँबाट स्थानीयलाई स्थानान्तरण गर्न खोजे संस्कृति विषय लोप हुने जिकिर गर्नुभयो ।
बाग्मती प्रदेशका सांसद सांसद नरोत्तम वैद्यले स्थानीयहरुलाई सहभागी नगराई गुरुयोजना बनाइएको प्रति आक्रोश व्यक्त गर्नुभयो ।
संस्कृतिमन्त्री भट्टराईले पशुपति क्षेत्रमा हुने जात्रा र पर्वहरु सञ्चालनका लागि ५० प्रतिशत पशुपति क्षेत्र विकास कोषबाट र ५० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने गरी अक्षयकोष स्थापना गर्नुपर्ने बताउनुभयो ।
नयाँ गुरुयोजनामा कोषले सिफलहुँदै धोवीखोलासम्मको बस्ती उठाउने,चक्रपथलाई बौद्धबाट घुमाएर कोटेश्वरसम्म जोड्ने,आर्यघाटको स्थानान्तरणदेखि दक्षिण ढोका भत्काएर पशुपतिको प्राङ्गण विस्तार गर्ने योजना थियो ।
तर, यो अवधारणालाई स्थानीयले गुरुयोजना नभनेर स्वीकार गर्न तयार भएनन् र गुरुयोजना नै खारेज गर्नुपर्ने माग गर्दै संघर्षमा उत्रिए ।
पशुपति क्षेत्रको विकासका लागि ४० को दशकमा गठन भएको पशुपति क्षेत्र विकास कोषको यो दोस्रो गुरुयोजना हो ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्