१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सार्क राष्ट्रहरुसँगको व्यापार घाटा ६ खर्ब ७४ अर्ब ५९ करोड


0
Shares

काठमाडौं, साउन १८ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको निर्यात केही बढेको र आयात कम भएको छ ।

गत आर्थिक वर्षमा व्यापार घाटामा १५.६३ प्रतिशतले कमी आएको छ ।

विभिन्न सार्क राष्ट्रसँग नेपालको व्यापार घाटाको अवस्था भने उच्च नै छ ।

भारतबाट खाद्य सामग्री, ईन्धनदेखी लत्ताकपडा लगायतका वस्तु आयात हुने गरेको छ ।

सार्क राष्ट्रहरुसँग नेपालको व्यापार घाटाको अवस्था उच्च रहेको देखिन्छ ।

भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक आयात निर्यात तथ्यांक अनुसार सार्क राष्ट्र मध्ये माल्दिभ्स र अफगानिस्तान बाहेकका देशमा व्यापार घाटाको अवस्था उच्च रहेको देखिन्छ ।

सार्क राष्ट्र मध्ये भारतसँग सबैभन्दा बढि अर्थात ६ खर्ब ६५ अर्ब व्यापार घाटा रहेको देखिन्छ । भारतबाट नेपालमा ७ खर्ब ३५ अर्बको वस्तु आयात हुँदा नेपालबाट ७० अर्ब १० करोड रकम बराबरको वस्तु निर्यात भएको देखिन्छ ।

यस्तै दोस्रोमा बंगलादेशसँग ४ अर्ब ३३ करोड रकम बराबरको व्यापार घाटा रहेको देखिन्छ ।

बंगलादेशबाट ५ अर्ब २९ करोडको वस्तु आयात हुँदा ९५ करोड ४७ लाखको मात्रै वस्तु निर्यात भएको छ ।

बंगलादेशबाट लत्ताकपडा देखी मकै, प्लास्टिकजन्य वस्तुहरु पनि आयात हुने गरेको छ । गत बर्ष पाकिस्तानसँग नेपालको व्यापार घाटा ३ अर्ब ४२ करोड रहेको छ ।

पाकिस्तानबाट विशेषगरी मेसीनरी वस्तु, लत्तापकडा तथा ओखर, तरकारी जन्य उत्पादन बढी आयात हुने गरेको भन्सार विभागको तथ्याकं छ ।

भुटानसँग भने ९९ करोड ५५ लाख बराबर व्यापार घाटा रहेको छ । यस्तै श्रीलंकाबाट चिया, तयारी खाना, लत्ताकपडा लगायतका वस्तु आयात हुने गरेको छ ।

श्रीलंकासँग नेपालको व्यापार घाटा २० करोड ५२ लाख पुगेको छ । अफगानिस्तानतर्फ २ करोड २२ लाख बराबरको र माल्दिभ्सतर्फभने १४ लाख ७५ हजारको वस्तु निर्यात भएको छ ।

नेपालबाट विशेषगरी पश्मिना, तयारी पोशाक तथा चिया कफी लगायतका वस्तुहरु निर्यात हुने गरेको छ ।