
काठमाडौं, साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको तीन घण्टे वार्ता बिना परिणाम सकिएको छ ।
आइतबार अर्का एक एक जना नेतासहित करिब तीन घण्टा बिताउनु भएका उहाँहरुले त्यसपछि आ–आफ्ना समूहमा दुई नेताबीच भएको छलफलको जानकारी गराउनुभएको छ ।
साउन १३ गते स्थायी कमिटी बैठक ओलीले एक पक्षीय रुपमा स्थगन र दाहाल पक्षले बहुमत सदस्यसहितको गरेपछि दुई नेताबीच चार दिनदेखि संवादहीनताको अवस्था थियो ।
त्यही संवादहीनता तोड्न दाहाल वरिष्ठ नेता झलनाथ खनाललाई साथ लिएर ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । ओली पनि संसदीय दलका उपनेता सुवास नेम्बाङसहित छलफलमा बस्नु भएको थियो ।
दुई नेताबीच सम्वाद खुले पनि कुनै सहमति बन्न नसकेको जनाइएको छ । वार्तामा ओली र दाहालले आ–आफ्नै अडानमा तर्क राख्नु भएको थियो ।
स्थायी कमिटी कहिले बोलाउने भन्ने पनि नटुंग्याएका नेताहरुले सोमबार फेरि छलफलमा गर्ने सहमति भनेको गरेको जनाइएको छ । छलफलमा संलग्न नेता नेम्वाङ्गले सोमबार एउटा निष्कर्षमा पुग्न सक्ने प्रतिक्रिया दिनुभएको छ ।
यसैबीच बालुवाटार वार्ता सकाएपछि ओली र दाहाल दुबैले आ–आफना समूहका नेताहरुलाई दिउँसो भएको छलफलबारे जानकारी गराउनु भएको छ ।
ओलीले बालुवाटारमा महासचिव विष्णु पौडेलसहितका नेताहरुसँग छलफल गर्दा दाहालले नेता खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसँग छलफल गर्नुभएको हो ।
ओलीले सचिवालय बैठक राखेर सहमति खोज्ने तथा दाहालले स्थायी कमिटी चलिरहेकाले त्यहीबाट निर्णय गर्नुपर्ने धारणा राख्नुभएको बताइएको छ ।
पछिल्लो समय बामदेव गौतमलाई आफ्नो पक्षमा पारेपछि ओली र दाहालबीच नौं सदस्यीय सचिवालयको गणित आधा आधाको अवस्थामा देखिएको छ ।
सबैको आँखा रामबहादुर थापामाथि छ । थापालाई ओली र दाहाल दुबैले आफ्नो पक्षमा हिसाब गरिराख्नुभएको छ । थापाले आफ्नो कार्ड अझै खोल्नु भएको छैन ।
थापा गृहमन्त्री भएको र प्रधानमन्त्रीबाट ओलीलाई हटाउन हतार गर्न नहुने बताउनु गर्नुभएकाले आफूलाई समर्थन गर्नेमा ओली आशावादी देखिनुभएको हो ।
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति आपत्ति जनाउने दाहाल–नेपाल–खनाललगायतका बहुमत नेताले ओलीलाई दुबै पद त्याग्न दबाब दिइरहे पनि उहाँले भने कुने हालतमा पद नछाड्ने बरु सकेको गर्न चुनौती दिइरहनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्