२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ओली र दाहालको निरन्तरको संवाद, समय कटाउने, मानिस गलाउने रणनीति !


0
Shares

kp oli prachanda primeminister NCP

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सोमबार आज भएको छलफल पनि औपचारिकतामै सीमित रह्यो ।

दुई नेताबीच चार दिन लामो संवादहीनता तोड्दै आइतबार करिब तीन घण्टा वार्ता भएकोमा सोमबार भने करिब डेढ घण्टा छलफल भए पनि कुनै सहमति भएन ।

छलफललाई निरन्तरता दिने आइतबारे सहमति अनुसार सोमबार चार जना नेताहरुबीच छलफल भए पनि दुबै पक्ष आ–आफ्नै अडानमा रहँदा समय कटाउने मेलो मात्र भएको हो ।

छलफलमा अध्यक्ष दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई लिएर जानुभएको थियो भने ओलीसँग संसदीय दलका उपनेता सुवास नेम्बाङ हुनुहुन्थ्यो ।

छलफलमा ओलीले सचिवालय बैठक बोलाएर त्यहीँबाट विषयहरु टुंग्याएर अगाडी बढ्न आग्रह गर्नुभएको तर दाहालले भने बीचैमा स्थगित भएको स्थायी कमिटी बैठकबाटै विषयहरुलाई बीट मार्नुपर्ने आफ्नो धारणा राख्नुभएको थियो ।

तर दुबै नेताले आफ्नै विषयलाई जोड दिँदा बैठक त्यत्तिकै जनैपूर्णिमाको शुभकामना आदानप्रदान गरेर सकिएको एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट हटाउने भन्दै नेकपाभित्र तीब्र ध्रुवीकरण भएको छ । तर ओली भने कुनै हालतमा पद नत्याग्ने अडानमा हुनुहुन्छ ।

गत मंगलबार बोलाइएको पार्टी स्थायी कमिटी बैठक अध्यक्ष ओलीले एकलौटी रूपमा स्थगित गरेपछि दाहाल र खनालले ओलीलाई आपत्ति जनाउँदै आफूहरुले बैठक चलाउने सूचना दिनुभएको थियो । त्यस यता स्थायी कमिटी बैठक पनि बस्न सकेको छैन ।

पार्टीको सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीमा बहुमत गुमाउनु भएका ओलीलाई पद जोगाउन निकै हम्मेहम्मे परेको छ । उता ओलीलाई दुबै पदबाट हटाउने अभियानमा दाहाललाई पार्टी नेता माधव नेपाल, खनाल, नारायणकाजी श्रेष्ठलगायतको समर्थन रहेको छ ।

यता र उता गरिरहने नेता बामदेव गौतम भने पछिल्ला दिनमा ओलीको समर्थनमा देखिनुभएको छ । यद्यपि, पछिल्ला दिन ओलीको कार्यशैलीको लगातार आलोचना गरिरहनुभएका दाहाल र ओलीबीच सहमति खोज्न दोस्रा तहका नेताहरु लागेका छन् ।