
काठमाडौं, साउन १९ । सामाजिक अभियन्ता सत्याग्रही ई को स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको छ ।
कोरोना महामारी रोकथाम, परीक्षण र उपचारको दायरा बढाउन माग गर्दै काठमाडौंको वसन्तपुरमा १७ दिनदेखि आमरण अनशनरत ई को स्वास्थ्य अवस्था कमजोर भएपछि अस्पताल भर्ना गरिएको हो ।
मुटुको चाल र रगतमा चिनीको मात्रा कम देखिएपछि अस्पताल भर्ना गर्नुपरेको इनफ इज इनफ अभियानका अभियन्ता आलोक सुवेदीले जानकारी दिनुभएको छ ।
यद्यपि, ई ले अनशन भने अस्पतालमै निरन्तर गरिराख्ने बताइएको छ । १७ दिनसम्म अनशनमा बस्दा पनि सरकारका तर्फबाट भने खासै चासो नदिएको अभियन्ताहरुले जनाएका छन् ।

यसअघि १२ दिनसम्म सत्याग्रहमा बसेका ई ले राखेका सबै माग पूरा गर्ने बचन सरकारले दिएपछि उहाँले अनशन तोड्नु भएको थियो । अभियन्ता ई सँग स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सहमति गरेका थिए ।
यसअघि प्रधानमन्त्री केपी ओली आफैले ई लाई भेटेर माग पूरा गर्ने आश्वासन दिँदै अनशन तोड्न आग्रह गरेपछि उहाँले अनशन तोड्नुभएको थियो ।
तर, सत्याग्रह स्थगति गरेको दुई सातासम्म पनि सरकारले सम्झौता अनुरुपका काम नगरेपछि ई फेरि दोस्रो पटक अनशनमा बस्न बाध्य हुनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्