
काठमाडौं, साउन १९ । नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।
बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तहरुबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने गरेको तथ्याङ्क रहेको बताउनुभयो ।
संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटना मध्ये ८ वटा बदलाको भावनाले घटेको बताउनुभयो ।
महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थहरुको सहज उपलब्धता नहुने गरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
नेपालमा सबै भन्दा बढी ब्याट्रि तथा इन्भर्टरहरुमा प्रयोग हुने सल्फ्युरिक एसिड आयात हुने गरेको छ ।
इलेक्ट्रोनिक तथा सोलार इन्भर्टर उपलब्ध हुने ठाउँहरुमा यो सुलभ रुपमा पाइन्छ ।
सरकारले एसिडको विक्रि वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानूनी व्यवस्था गरे एसिड आक्रमणका घटनाहरुमा केही कमि आउन सक्छ ।
एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा ८ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्