
काठमाडौं, साउन १९ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा सेवा आयोगमा लागेका ताला प्रशासनले सोमबार खुलाएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रजिष्ट्रार पेशल दाहाल र त्रिवि सेवा आयोगमा त्रिविका नियुक्तिहरुमा सत्तारुढ नेकपाको भर्तीकेन्द्र बनाइएको भन्दै नेपाल विद्यार्थी संघले साउन ४ गते ताला लगाएको थियो ।
यस्तै विश्वविद्यालयलाई राजनीतिकरण भन्दा टाढा राख्नुपर्ने र राजनीतिक नियुक्ति खारेजीको माग गर्दै ३३ सुत्रिय माग राख्दै प्रजातन्त्रवादी प्राध्यापक संघले साउन ५ गते र समावेशी सिद्धान्त अनुरुप नियुक्ति नभएको भन्दै लोकतान्त्रिक प्राध्यापक संघले साउन ११ गते ताला लगाएका थिए ।
आजै शिक्षाशास्त्र संकायको डीन कार्यालय र मानविकि तथा सामाजिकशास्त्र संकायमा लगाइएको ताला पनि खोलिएका छन् ।
दुई साताअघिदेखि त्रिवि पदाधिकारी कार्यकक्षमा लगाएको ताला खोल्न माग गर्दै त्रिविका कर्मचारीले हालेको रिटको सुनुवाई गर्दै अदालतले ताला खोल्न साउन १८ गते आदेश दिएको थियो ।
अदालतको आदेश अनुसार ताला खोलिए पनि आन्दोलनरत पक्षसँग वार्ताको आव्हान गरिरहेको त्रिविले जनाएको छ भने आन्दोलनरत पक्षहरुले भने आन्दोलन जारी राख्ने जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्