२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रधानमन्त्री ओलीमार्फत् सरकारलाई विपक्षी दलका नेता देउवाले दिए सात सुझाव


0
Shares

congress sherbahadur deuba corona

काठमाडौं, साउन २० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई ७ बुँदे सुझाव दिँदै कोरोना संक्रमितको पहिचान गर्न प्रत्येक प्रदेशमा एक लाख नयाँ परीक्षण तत्काल शुरु गर्न सरकारसँग आग्रह गर्नुभएको थियो ।

बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले बोलाएको बैठकमा सभापति देउवाले कोरोना संक्रमितको उपचारमा सहयोग गर्ने रेमडिसिभर औषधिको आयातमा तदारुकता देखाउन, आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध गर्न पनि सुझाव दिनुभयो ।

देउवाले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका हालसम्मका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्न र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप नगरी छानबिन गर्न पनि सुझाव दिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको निःशुल्क उद्वार गरी क्वारेन्टीन र परीक्षण पश्चात् घर पठाउन, नेपालीको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र नाका सिल गर्न पनि देउवाको सुझाव छ ।

देउवाले कोरोना संक्रमितको संख्याको आधारमा देशका उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण गरी कार्यान्वयन गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरी जीवन रक्षा गर्न पनि देउवाले प्रधानमन्त्रीलाई सुझाव दिनुभएको पौडेलले जानकारी दिनुभएको छ ।

कोरोना महामारीबाट सुरक्षाका लागि मास्क लगाउन चेतनामूलक कार्यक्रम गर्न पनि देउवाको सुझाव छ ।

देउवाले प्रधानमन्त्री ओलीलाई दिएका सुझाव

(१) हालसम्मका कमजोरी र प्रगतिको गहिरो समिक्षा गरियोस् । स्वास्थ सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गरियोस् ।

(२) नेपाली कांग्रेसले विगत देखिनै अघि सारेका माग तथा परिवर्तित स्थितिमा निम्न बिषय सम्बोधन गरेर युद्धस्तरमा कार्य गर्न बिशेष ध्यानाकर्षण गराउंदछु

–आरडीटी परिक्षण स्थायी रुपले अन्त्य ।

–सम्पूर्ण रुपले पीसिआर परिक्षण गर्दै एक प्रदेशमा एकलाख नयाँ परिक्षण तत्काल प्रारम्भ गर्ने गरि आवश्यक बन्दोबस्त ।

–स्वास्थ सामग्रीको पर्याप्त प्रबन्ध । अत्यावश्यक पर्ने औषधि रेमडिसिभरको आयातमा तदारुकता । आइसोलेसन वार्ड विस्तार र भेन्टिलेटरको अत्यावश्यक प्रबन्ध ।

–मापदण्ड अनुरुप क्वारेन्टाइनहरुको यथाशीघ्र ब्यवस्थापन ।

–विदेशमा अप्ठेरोमा परेका नेपालीको निःशुल्क उद्वार गरि क्वारेन्टाइन र परिक्षण पश्चात् घर पुर्‍याउने ब्यवस्था ।

–नेपालीको उद्दार गर्नुपर्ने स्थितिमा बाहेक सिमानाको आवागमनमा सम्पूर्ण कडाइ र सिमा नाका सिल ।

–सुरक्षाका लागि मास्क लगाउने अनिवार्यता संगै चेतनामूलक अभियानमा आम संचारका माध्यमको व्यापक प्रयोग ।

(३) परिस्थिति अनुरुपका रणनीति निर्माण गर्न बिज्ञहरुसंग परामर्श गर्ने क्रमलाई नियमितता दिएर निर्मित रणनीतिको चुस्त कार्यान्वयनका लागि तदारुकता राखियोस् ।

(४) विभिन्न दल, संघसंस्था र आम संचार माध्यमका सुझाव नियमित रुपले ग्रहण गरेर कार्य गर्ने प्रवृत्ति आत्मसात गरियोस् ।

(५) उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिमको क्षेत्र पहिचान गरेर भिन्न क्षेत्र भिन्न रणनीति निर्माण र कार्यान्वयन गरियोस् ।

(६) विभिन्न जायज माग अघि सारेर आमरण अनशनमा बसेका युवाहरूको भावना तत्काल सम्बोधन गरेर उनीहरुको जीवन रक्षा गरियोस् ।

(७) बर्ग, क्षेत्र र परिस्थिति हेरि राहतका लागि कार्यक्रम तर्जुमा र कार्यान्वयन ब्यवस्थित ढंगले गरियोस् ।