
काठमाडौं, साउन २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग संसदीय दलका उपनेता सुवास नेम्बाङले भेटवार्ता गर्नुभएको छ ।
पार्टीका अध्यक्षद्वय केपी ओली र दाहालबीच वार्ताको टुंग्गो नलागेका बेला नेम्बाङले दाहालसँग खुमलटारमा भेट गर्नुभएको हो ।
नेम्वाङले बुधबार दाहालसहितका चार नेताले पत्रकार सम्मेलन गरेर ओलीमाथि आरोपको वर्षा गरेपछि प्रधानमन्त्री रुष्ट हुनुभएको र यसले वार्ताको वातावरण बिगारेका बारेमा ध्यानाकर्षण गराएको खुमलटार स्रोतले जनाएको छ ।
नेम्वाङले दाहालसँग भेट भएको बताए पनि खास के बारेमा कुरा भएको भन्नेचाहिँ केही खुलाउनुभएको छैन । यद्यपि नेम्वाङले दुई अध्यक्षबीच वार्ता चलिरहेका बेला पत्रकार सम्मेलन गरेर ओलीमाथि आरोप लगाउँदा राम्रो सन्देश नगएको सन्दर्भ पनि राख्नुभएको बताइएको छ ।
दाहालले भने एकताका लागि आफ्नो प्रयासलाई ओलीले गम्भीरतापूर्वक नलिएका गुनासो गर्नुभएको थियो । ओलीको कार्यशैलीकै कारण पार्टी एकता संकटमा पर्न थालेको दाहालको भनाइ थियो ।
बुधबार पार्टीअध्यक्ष दाहालसहितका चार नेताले सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै आफूमाथि पार्टी विभाजनसम्मको आरोप लगाएको भन्दै ओली भने रुष्ट बन्नुभएको छ । उहाँ मात्र होइन बालुवाटार शिविर नै आतंकित बनेको देखिन्छ ।
त्यसैको अस्त्र स्वरुप प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपालसहितका नेतामाथि पदका लागि पार्टी विभाजनसम्म गर्न ओर्लिएको सामाजिक सञ्जालमार्फत् आरोप लगाउनुभएको छ ।
ओलीनिकट स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टीविवाद पत्रकार भेटघाटसम्म पुग्नु दुःखद भएको फेसबुकमा लेख्नुभएको थियो । ‘पार्टी भित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद हो’, पोखरेलले लेख्नुभएको छ, ‘पार्टी एकताको रक्षा गर्न नेताहरु पुनः संवाद र सहमतिमा फर्कनुको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस्