१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेकपामा ओलीका सल्लाहकारहरु बने आक्रामक, प्रवक्ता पदको लाज जोगाउन नारायणकाजीलाई रिमालको चुनौती


0
Shares

politics

काठमाडौं, साउन २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सत्ता–शक्तिको झगडाले उत्कर्षको रुप लिँदैछ । नेताहरु एकापसमा खुला रुपमा वादविवादमा उत्रिएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षीय नेताहरु एकापसको आलोचनामा खुला रुपमा उत्रिएका हुन् ।

यसैक्रममा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेता नारायणकाजी श्रेष्ठलाई प्रवक्ता पदको लाज जोगाउन सुझाउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता श्रेष्ठलाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै प्रवक्ता पदको लाज जोगाउन आग्रह गर्नुभएको हो ।

रिमालले ‘विधी र पद्धती’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न चेतावनी पनि दिनुभएको छ ।

पार्टी एकताविरूद्धका कुनैपनि गतिविधि कतैबाट पनि हुन नहुने भन्दै मुलुक संवेदनशील मोडमा रहेको महशूस गर्न समेत सुझाउनु भएको छ ।

यसअघि बिहीबार मात्र प्रधानमन्त्री ओलीकै प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहाल र माधव नेपालसहितका नेतालाई पदीय स्वार्थका लागि पार्टी फुटाउनेसम्मको खेलमा लागेको गम्भीर आरोप लगाउनुभएको थियो ।

बुधबार पार्टी अध्यक्ष दाहाल, नेताहरु नेपाल, झलनाथ खनाल र श्रेष्ठले आफूपक्षीय पत्रकार भेला गरी ओलीमाथि आलोचनाको वर्षा गर्नुभएको थियो ।

त्यसैको प्रतिरोध गर्न प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकारहरुलाई नै परिचालन गर्नुभएको नेकपाकै नेताहरु बताउँछन् ।

नेकपामा ओलीको कार्यशैली र रवैयाले पार्टी र सरकारको साख धूलिसात् भएको भन्दै दाहाल–नेपालपक्षीय नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट ओलीलाई गलहत्याउन लागि पर्नुभएको छ ।

ओलीले भने कुनै हालतमा पद नत्याग्ने अडान राख्दै सके कार्वाही गरेर देखाउन चुनौती दिइरहनुभएको छ ।