
एजेन्सी, साउन २५ । स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स (युएई) पुगेको दाबी गरिएको छ ।
एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष विमान मार्फत युएईमा अवतरण गरेको तस्वीर सार्वजनिक भएको छ ।
स्पेनिस सञ्चार समूह एनआइयुएसले सार्वजनिक गरेको तस्वीरमा पूर्व राजा कार्लोस अबुधाबीमा विमानबाट झर्दै गरेको देखिन्छ ।
गत सोमबार स्पेनिस राजदरबारले कार्लोसले देश छाड्ने निर्णय गरेको जनाएको थियो । केही हप्ताअघि शुरु भएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा कार्लोसको नाम पनि मुछिएपछि एकाएक उहाँले देश छाड्ने घोषणा गर्नुभएको जनाइएको थियो ।
आफूले कुनै गलत काम नगरेको दाबी गर्नुभएका कार्लोसले आफू अन्तर्वार्ताका लागि तयार रहेको बताउनुभएको छ ।
८२ वर्षीय पूर्व राजा कार्लोसले वर्तमान राजा छोरा फेलिपेलाई पत्र लेखेर देश छोड्ने जानकारी दिनुभएको थियो । फेलिपेलाई ६ वर्षअघि कार्लोसले सत्ता हस्तान्तरण गर्नुभएको थियो ।
उहाँले भ्रष्टाचारका सम्बन्धमा अनुसन्धान गरिरहेका अधिकारीले अन्तर्वार्ता गर्न चाहे आफू तयार रहेको पनि बताउनुभएको थियो ।
गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्बन्धी सम्झौतामा पूर्व राजा ख्वानको संलग्नताबारे अनुसन्धान थालेको थियो ।
स्पेनलाई अधिनायकवादबाट निकै कुशलतापूर्वक प्रजातन्त्रको मार्गमा ल्याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन मानिएको छ ।
प्रतिक्रिया दिनुहोस्