१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


बुद्ध र रामको नागरिकता दाबी गर्ने भारतीय र नेपाली शासकलाई कांग्रेसको प्रश्न


0
Shares

congress welcome agreement between dr kc and government

काठमाडौं, साउन २५ । यतिबेला नेपाल र भारतका शासक वर्गमा रहेकाहरु आम जनताको आस्थासँग जोडिएका बुद्ध र रामका बारेमा अनेकन दाबी गरिरहेका छन् ।

नेपालका प्रधानमन्त्री केपी ओलीले राम नेपाल–चितवन माडीस्थित अयोध्यापुरीमा जन्मिएको दाबी गरिरहनुभएका बेला उता भारतका विदेश मन्त्रीले त बुद्धलाई भारतीय नागरिककै बिल्ला भिराएका छन् ।

दुबै देशका शासक वास्तविक यथार्थभन्दा नागरिकको आस्थासँग जोडिएको विषयमा अनेकन फण्डा चलाएर दुई देशबीचको सम्बन्ध मात्र होइन जनताको भावनामै खेलवाड गर्न थालेको आलोचकहरुले टिप्पणी गरिरहेका छन् ।

यसै सन्दर्भमा नेपालको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्ता आधारहीन दाबी गर्नेहरुलाई सचेत तुल्याएको छ ।

भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई भारतीय नागरिक भन्दै दाबी गरेकाप्रति आपत्ति जनाउँदै नेपाली कांग्रेसले भनेको छ, ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन् । त्यो भूभाग आजको नेपालमा रहेकोे पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ ।’

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमार्फत् भन्नुभएको छ, ‘आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्विकार्य छैन । आवेगको जवाफमा आवेग दुबै देशको हितमा छैन !’

शर्मा अगाडी लेख्नुहुन्छ, ‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्,मूल विषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन् ।’

बुद्ध नेपालमा जन्मिएको भनेर कसैको दर्ता प्रमाण जरुरी नपर्ने भन्दै शर्माले लेख्नुभएको छ, ‘बुद्ध नेपालमा जन्मिएका हुन्न्’ भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले मागेका छैनौं ! भारतीय भूमिबाट विगतमा आएका टिप्पणी पनि ‘नेपाल बुद्ध भुमी हो’ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो । फेरिपनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ ।’

यता नेपाली प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि चितवनको माडीमा भएको र सीतारामको भव्य मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई दिएको निर्देशनप्रति शर्माले टिप्पणी गर्नुभएको छ ।

शर्माले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्नुभएको छ, ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार ? यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’ लाई बल पुग्ला ?