
हेटौंडा, साउन २५ । चुरियामाई नाकाबाट मकवानपुर जिल्ला प्रवेशमा प्रहरीले रोक लगाएको छ ।
प्रदेश २ को पर्सा र बारामा कोरोना संक्रमण फैलिँदै गएको र मकवानपुरको हेटौैडामा पनि संक्रमितको संख्या बढदै गएपछि मकवानपुर र बाराको सिमाना चुरियामाई जिल्ला कोरोना (कोभिड– १९) संकट व्यवस्थापन केन्द्रको बैठकले चुरियामाई नाकामा सुरक्षा पोष्ट खडा गरेको छ ।
नाकामा अतिआवश्यक वस्तुका सवारी साधनबाहेक सर्वसाधारणसहित अन्य सवारी साधनमा रोक लगाएको छ ।
मकवानपुरबाट तराईतर्फ जाने यात्रुलाई जान दिइएको छ भने उपचारको लागि अनुमति पत्र लिएर आउनेबाहेक अन्य यात्रुलाई प्रवेश निषेध गरिएको प्रहरी निरीक्षक देवराज काफ्लेले जानकारी दिनुभयो ।
यस्तै मकवानपुर चितवनको सिमाना लोथरमा पनि सुरक्षा पोष्ट खडा गरी आवातजावतमा कडाइ गरिएको छ ।
कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको अर्को आदेश नभएसम्म दुवै नाकामा सुरक्षा कडाइ गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्