२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राम र बुद्धको बिषयले झन् चिसियो नेपाल र भारतबिचको सम्बन्ध


13
Shares

अक्कल कुँवर (ईमेज)
काठमाडौं, साउन २५ । गत वर्ष कार्तिक तेस्रो साता भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्धमा सुधारको संकेत देखिएको छैन ।

दुवै देशका उच्च नेतृत्वमा समेत बिग्रिएको सम्बन्ध सुधार्ने पहल पनि हुन सकेको देखिदैंन ।

यस्तो अबस्थामा शनिबार मात्र भारतका विदेशमन्त्रीले गौतम बुद्धको विषयमा दिएको विवादास्पद अभिव्यक्तिले कटुतापूर्ण सम्बन्धलाई थप तरंगित बनाउन मलजल गरेको छ ।

शनिबार भारतका विदेशमन्त्री एस.जयशंकरले गौतम बुद्ध भारतीय नागरिक भएको विवादित अभिव्यक्ति दिएसंगै दुई देशबीचको सम्बन्धमा अविश्वासको खाडल थप गहिरिन पुगेको छ ।

भारतीय उद्यमी तथा व्यवसायीहरुसंगको भर्चुअल सम्मलेनमा जयशंकरले गौतम बुद्ध र महात्मा गान्धी आजसम्मकै महान भारतीय नागरिक भएको अभिव्यक्ति दिनुभएको थियो ।

भारतीय विदेशमन्त्रीको यो विवादास्पद अभिव्यक्तिप्रति नेपालमा व्यापक विरोध सुरु भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भारतीय विदशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत आवेगको जवाफमा आवेग पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य किमार्थ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ ।

जयशंकरको अभिव्यक्तिप्रति कुटनीतिज्ञ क्षेत्रमा पनि विरोध शुरु भएको छ ।

परराष्ट्रविद् डा.दिनेश भट्टराईले भारतीय पक्षबाट यसप्रकारका अभिव्यक्ति यसअघि पनि आएको तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्षअघि नै नेपालको सार्वभौम संसदमा यो विषयमा विवाद टुङ्ग्याईसकेको टिप्पणी गर्नुभयो ।

नेपाल भ्रमणको क्रममा ६ वर्षअघि नेपालको व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाल बुद्ध भूमि भएको र सारा विश्वलाई शान्तिका लागि प्रेरित भएको बताउनुभएको थियो ।

हुन त कतिपयले भारतका विदेशमन्त्रीको पछिल्लो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रतिक्रियात्मक भएको टिप्पणी गरेका छन् ।

पूर्व परराष्ट्रमन्त्री डा.रामशरण महतले प्रधानमन्त्री ओलीको अभिव्यक्तिको प्रतिक्रिया स्वरुप भारतका विदेशमन्त्रीको विवादास्पद अभिव्यक्ति आएको हुनसक्ने आशंका गर्नुहुन्छ ।

शनिबार नै प्रधानमन्त्री ओलीले चितवनको माडी नगरपालिकाका जनप्रतिनिधिहरुसंग रामको जन्मुभूमि नेपालको चितवनस्थित माडीको अयोध्यापुरीमै भएको दोहोर्‍याउंदै त्यहाँ विशाल मूर्ति स्थापना गर्न निर्देशन दिनुभएको थियो ।

परराष्ट्रविद् भट्टराईले भने चर्को कुरा गरेर मात्र दुई देशबीच देखिएको समस्या समाधान नहुने टिप्पणी गर्नुभयो ।

सिमाना विवादबाट थप बिग्रिन सुरु भएको नेपाल र भारतको सम्बन्ध सुधारको कुनै संकेत देखिएको छैन, झन गहिरिँदै गएको छ ।

संवादहिनताको वर्तमान अवस्था जारी रहेसम्म समस्या झन् बढ्दै जाने कुटनीतिक क्षेत्रका जानकारहरुको मत छ ।

भिडियो हेर्नुहोस्