
काठमाडौं, साउन २५ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमाथि गम्भीर आक्षेप लगाएको छ ।
जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्वमा बसेको चार दिने केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रधानमन्त्री आलीको मानसिक तथा शारीरिक स्वास्थ्य कमजोर रहेको टिप्पणी गरेको हो ।
शनिबार सम्पन्न केन्द्रीय समिति बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन गरी मुलुकमा अहिले कोभिड–१९ को महाविपत्तिबाट मुक्त भई नसकेको अवस्थामा केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको छ ।’
अध्यादेश ल्याएर देशमा पार्टी विभाजन गर्ने तथा प्रतिपक्षलाई भूमिकाविहीन गराउने किसिमबाट अधिनायकवादी चरित्र देखाएको, संविधान संशोधन गर्ने सहमतिको परिपालना नगरी सरकार टिकाउन साम, दाम, दण्ड, भेद जस्ता अपराध गर्न अग्रसर भएको, राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने वालापन देखाएको आरोप ओलीमाथ लगाइएको छ ।
नागरिकता सम्बन्धी विधेयकमा लैंगिक विभेद गर्दै भारत लगायतका देशसँगको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई अवरुद्ध गर्ने प्रावधान राखिएको निष्कर्ष जसपाको छ ।
बैठकले सांसद रेशम चौधरीलगायतका मधेश÷थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा गर्न माग गरेको जसपाले कञ्चनपुरकी निर्मला पन्त, रुकुम चौरजहारी हत्या घटनालगायतका हत्या, हिंसाका घट्नाले सरकार शान्ति सुरक्षा कायम गर्न असफल रहेको निचोड पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्