
एजेन्सी, साउन २६ । हङ्कङमा नयाँ सुरक्षा कानुन लगाएर प्रजातन्त्रवादी प्रकाशकलाई पक्राउ गरिएको छ ।
हङ्कङका चर्चित प्रजातन्त्रवादी प्रकाशक जिमी लाई लाई विदेशी शक्तिहरूसँग मिलेमतो गरेको आरोपमा पक्राउ गरिएको हो ।
सञ्चार कम्पनी नेक्स्ट डिजिटलमा कार्यरत मार्क साईमनका अनुसार जिमीलाई चीनले बलपूर्वक कार्यान्वयन गराएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत नियन्त्रणमा लिइएको हो ।
जिमी गत वर्ष हङ्कङमा भएको प्रजातन्त्रवादी आन्दोलनका समर्थक र त्यहाँको सबैभन्दा ठूलो एपल डेली समाचारपत्रका प्रकाशक समेत हुनुहुन्छ । उहाँसँग बेलायती नागरिकता पनि छ ।
७१ वर्षीय जिमीमाथि गत फेब्रुअरीमा अवैधानिक रूपमा भेला भएको र बलजफती गरेको अभियोग लगाइए पनि पछि धरौटीमा छुट्नु भएको थियो ।
प्रहरीले जिमीका कार्यालयमा प्रवेश गरी खानतलासी समेत लिएका छन् । प्रहरीले पनि सोमवार सात व्यक्तिलाई राष्ट्रिय सुरक्षा कानुन उल्लङ्घन गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ ।
जिमी अहिलेसम्म पक्राउ पर्नेमध्ये सबैभन्दा ठूला र विदेशी नागरिकतावाहक पहिलो व्यक्ति हुन् ।
एक अर्ब डलर सम्पत्तिका मालिक जिमी कपडा उद्योगबाट प्रशस्त धन कमाई सञ्चार क्षेत्रमा आउनु भएको हो ।
उहाँको एपल डेली पत्रिकाले हङ्कङ र चिनियाँ नेतृत्वको बारम्बार आलोचना गर्ने गरेको छ ।
चीनले ल्याएको नयाँ कानुनलाई जिमीले त्यो “हङ्कङका लागि मृत्युको घण्टी” भएको प्रतिक्रिया दिने गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्