
काठमाडौं, साउन २६ । काठमाडौंको गोंगबुमा आइतबार भेटिएको शवको सनाखत गर्न नसकेर हैरानीमा परेको प्रहरीले आम नागरिकसँग सूचनाका अपील गरेको छ ।
महानगरीय अपराध महाशाखा, काठमाडौंले एक सूचना निकाली मृतक व्यक्तिका बारेमा थाहा पाएको जानकारी फोन नम्बर ९८५१२८३०३२ मा वा प्रहरीको कन्ट्रोलको १०० नम्बरमा टिपाइदिन आग्रह गरेको हो ।
आइतबार बिहान गोंगबुको गणेशस्थाननजिकै सुटकेसभित्र टाउको नभएको शव फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले शवको टाउको डग स्कुलबाट तालिम प्राप्त कुकुरको मद्दतबाट फेला पारेको थियो । शव पोष्टमर्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पतालमा राखिएको छ ।
यसबारेमा अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा अनुसन्धान भइरहे पनि शवको पहिचान नखुल्दा प्रहरीलाई अनुसन्धान अघि बढाउन सकस भएको हो ।
मृतक अन्दाजी ४५ वर्षीय मंगोलियन पुरुष भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले गोंगबुका धेरैजसो मानिसलाई यसबारेमा सोधपुछ गरेपनि केही पत्ता लाग्न नसकेको हो ।
प्रहरीले आफ्ना कोही मान्छे हराइरहेको वा ती व्यक्तिसँग चिनजान छ भने प्रहरीलाई सम्पर्क गर्न आम नागरिकसँग अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस्