
काठमाडौं, साउन २६। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टी विधान विपरीत कदम चालिरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।
सभापतिको कदमप्रति रुष्ट बन्नुभएका पौडेलले कांग्रेस सुदृढीकरणका लागि भन्दै सात बुँदे दृष्टिकोण पनि अघि सार्नुभएको छ ।
महाधिवेशन घोषणा भइसकेपछि सभापति देउवाले विभाग, समितिहरूमा एकलौटी ढंगले मनोनयन र आफूखुशी पद बाँडेकोमा भने नेता पौडेल क्रूद्ध बन्नुभएको हो ।
पौडेल पक्षको विरोधको बाबजुद सभापति देउवाले एकपछि अर्को गर्दै विभागहरुमा आफ्ना मान्छे भर्ती गरिरहनु भएको छ । देउवाले अर्को पक्षलाई निषेध गरेरै गठन गरेको विभागहरुमा करिब सात सय कार्यकर्तालाई पद बाँड्नु भएको हो ।
सभापति देउवाले आइतबार राति र सोमबार गरेर विभाग गठन गर्नुभएको हो । ४७ मध्ये देउवाले करिब ३० विभागमा एकलौटी मनोनित गर्नुभएको हो ।
महाधिवेशन सकिएको छ महिनाभित्र विभागलगायत मनोनित गरिसक्नुपर्ने कांग्रेसको विधानमा भएपनि देउवाले अर्को महाधिवेशन शुरु भैसकेपछि महाधिवेशनलाई नै प्रभावित गर्ने गरी मनोनयन गर्नुभएको हो ।
नियमित चार वर्षे कार्यकाल सकाएर अर्को एक वर्ष आफ्नो कार्यकाल थप्नुभएका देउवाले त्यसको पनि छ महिना कटाइसकेपछि गरेको विभाग गठनमा पनि सहमति नगर्नुभएको हो ।
आफ्ना विपक्षमा रहेकाहरु अनेकन गूटमा रहेका तथा आफ्नो पक्षमा महाधिवेशनमा आफूलाई चुनौती दिने आँट कसैमा नभएकाले पनि देउवाले पार्टीमा अकोृ पक्षलाई पेलेरै जाने मूड बनाउनुभएको कांग्रेसकै एक नेताले बताए ।
पौडेलले सार्वजनिक गरेका दृष्टिकोणः
१. पार्टीमा नवजीवन
“निमुखालाई न्याय र विपन्नलाई आय” साकार पार्न कर्मशील कांग्रेसको निर्माण। सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि। देशभक्ति र फराकिलो राष्ट्रवादी विचार। संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस। न्याय, पारदर्शी म’ल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार।
२. लोकतान्त्रिक समाजवाद
उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन। युवा–केन्द्रित रोजगारी सिर्जना। श्रमको सम्मान गर्ने संस्कृति। एकीकृत सामाजिक सुरक्षा। सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र। जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य। मानवीय न्याय, स्वतन्त्रता, मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य।
३. समुन्नतिका आधार
प्रविधिप्रति दक्ष नागरिक। स्वच्छ उर्जा। उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि। बहुआयामिक वातावरण–मैत्री पर्यटन। प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय। दूरी र लागत घटाउने पूर्वाधार।
४. हाम्रो बसोबास
स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल। स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान। नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।
५. व्यवस्थाको प्रश्न
सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना। मौलिक हक र विधिको शासनको प्रत्याभुति। भ्रष्टाचार विरुद्ध कठोर संघीय सुशासन। बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति।
६. सामाजिक–धार्मिक सद्भाव
समाजका हरेक समुहबीच सहकार्य। सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण। सामाजिक पूँजीको जगमा सामुदायिक विकास।
७. परराष्ट्र सम्बन्ध
नेपालको अखण्डता र स्वाभिमानको रक्षा। बलियो अर्थ–कुटनीतिक अभ्यास। भाईचारामा आधारित असंलग्न नीति। बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रवर्द्धन।
प्रतिक्रिया दिनुहोस्