
काठमाडौं, साउन २७ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेका सुशील भट्टको नियुक्ति खारेज गर्न माग गरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले मंगलबार विज्ञप्ति जारी गर्दै आर्थिक तथा राजनीतिक बिचौलियाको रुपमा काम गर्ने अत्यन्त विवादास्पद छविका व्यक्तिलाई नियुक्त गरेको भन्दै आपत्ति पनि जनाउनुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वभरीका लगानीकर्ताहरुको विश्वास आर्जन गरेर मुलुकमा राष्ट्रिय महत्वका ठूला विकास निर्माणका आयोजनाहरु भित्र्याउन सक्ने योग्य, ईमान्दार र विश्वसनीय व्यक्तिको छनौट गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनुपर्नेमा कालोसूचीमा परेका अन्तर्राष्ट्रिय कम्पनीहरुको एजेन्टको रुपमा काम गरी बदनाम कमाएका, कमिशनको चक्करमा राजनीतिक बिचौलियाको परिचय बनाएका तथा नागरिकस्तरमा व्यापक आलोचित व्यक्तिलाई नियुक्त गरिनु अत्यन्त आपत्तिजनक विषय हो ।’
सुशासनका माध्यमबाट आर्थिक सम्मृद्धि ल्याउने घोषणा गरेको सरकारले संचारमाध्यमलगायत सचेत नागरिक समाजबाट जस्को नियत प्रवृति र चरित्रबारे पटक पटक आलोचनात्मक टिप्पणी भइरहेका बेला त्यस्ता व्यक्तिलाई लगानी बोर्डको कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पनु अत्यन्त विरोधाभाषपूर्ण रहेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको ठहर छ ।
कानूनद्वारा निर्धारित न्यूनतम योग्यता र अनुभवमा समेत शंकास्पद विवादास्पद चरित्रका व्यक्तिलाई अन्य कुनै विकल्पै नभए जसरी नागरिक आवाजको उपेक्षा गर्दै बलमिच्याई गरी नियुक्ति दिनुका पछाडि सरकारको नियतमाथि पनि गम्भीर प्रश्न तेर्सिएका तथा नागरिक आवाजको उपेक्षा गर्नु अधिनायकवाद तर्फको यात्रा भएको सो संस्थाको निष्कर्ष छ ।
प्रतिक्रिया दिनुहोस्