८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कलाब्रह्म दर्शन: कलाविद् वन्दन


26
Shares

art

उद्धव कुईंकेल ।

प्रस्तावना

“कला कलाको लागि हो।” कला आफैँमा अद्वितीय र अतुलनीय छ। यसको तुलना यसैसँग हुन्छ। अन्य कुनै शब्द या विषयसँग यसलाई दाँज्न सकिन्न । यस्तो विकल्प रहित निर्विकल्प कलाको अपार महिमा बोध गराउने व्यक्तित्वचाहिँ कलाविद् वा कलाउपासक हुन् । यी कलाउपासक यो संसारको प्राण, मान र सान हुन् । ब्रह्म तेजपुञ्ज कलाको देदिव्यमान उज्ज्वल प्रकाशले धर्ती उजिल्याई विराट ब्रह्म रुप कलाको गहन विशेषता स्थापित गर्ने प्रतिभावान कलाकर्मी यस भूतलका देवदूत हुन्।

कलाकर्मी भन्नाले मानव प्रतिभा प्रतिनिधि बुद्धिजीवी, अनुसन्धाता, परोपकारी व्यक्ति, समाज
अगुवा, लोकप्रिय बहु-विषयविज्ञ तथा मानव अलङ्कार कला-धरोहरजन आदि पर्दछन् । यिनैको कला दिग्दर्शन सत् कर्म प्रयासले नै मानवले कला ज्ञानको बहु विषय पान गर्न पाएको हो । सत्य एक भ्रम अनेक, विवेक एक बुद्धि अनेक, आविष्कार एक प्रकार अनेक तथा विचार एक
स्वीकार अनेक भनेजस्तै कला एकका अनेक रंग, ढंग र स्वांगले जगत, जीवन र प्रकृतिलाई दंग पारेको छ।

सामान्य परिभाषामा कलामा कलाविद्का कलाकारी शिल्प, रंग, कलाकौशल र कलात्मक प्रस्तुति आदि कला विशेषताका असंख्य पक्षहरु समेटिन्छन् । यसभित्र मानवका नाना जादुगरी चटक, दक्ष सिप, सिर्जनात्मक क्षमता लेखनकला र प्रतिभा प्रदर्शनका थरि-थरिका कला र तत्काल गर्नुपर्ने जुक्ति आदि पनि पर्छन् । यही कला भावभूमिको आधारमा नै ब्रह्माण्ड दिव्यसृष्टि रचनाका मनोरम चित्ताकर्षक दृश्य चमत्कार चमत्कृत र सुसज्जित छन् । यही ब्रह्मतेजको मनमोहक सृष्टि सौन्दर्यको अनुपम खजानामा प्राणी जगत मन्त्रमुग्ध छ । योभन्दा पनि अझ बढी कलाका विविध क्षेत्र र विषयगत विधालाई निम्न किसिमले बुझ्न सकिन्छ।

•कला परिचय

कला भन्नाले काव्यरस साहित्य, चित्र, संगीत, मूर्ति, प्रस्तर,वस्त्र-बुट्टा-रङसंयोजन -सिलाइ-
बुनाइ- सिपकला, वास्तुशिल्प, अभिनय र वक्तृत्व- भाषण-प्रवचन-संबोधनकला र लेखनकला
सम्बन्धित विविध विषयका उत्तम सिप वा रस भन्ने बुझिन्छ । उपर्युक्त कुराले नै कलाको व्यापकता प्रष्टिन्छ ।

कला यतिमा मात्र सीमित छैन । यसको दायरा असीमित छ । पशुसंरक्षण-कला, प्राविधिक-कला,
पाक-कला , पूर्ण-कला, चन्द्र-कला, अभिव्यक्ति-कला तथा काष्ठ- कला जस्ता अनेकौँ कलैकलाको महाकला सञ्जालमा कलाका अरु पनि थुप्रै भेद र उपभेद छन् । यसबाहेकका कला किसिमका व्याख्यान र उपाख्यान यतिमै सितिमिति राख्दछु।

•सृष्टिजगतमा कलाको महत्त्व

मानव सभ्यतामा साहित्य संगीत र कलाको ठूलो महत्व छ। यसलाई नबुझ्ने र यसको मर्म
नजान्नेलाई जड समान हुन् भनिन्छ । हुन पनि हो । यो विराट् ब्रह्माण्डको स्थावर र जङ्गम सृष्टिमा साहित्य, संगीत र कलाको सबैमा यसको परोक्ष र अपरोक्ष रुपमा ठूलो प्रभाव रहिआएको छ । यसमा कुनै दुई मत छैन । विराट् ब्रम्हमाण्डको स्थावर अथवा अवचेतन सृष्टि अन्तर्गत चेतनरहित जडपदार्थहरु पर्दछन् । जङ्गम सृष्टिमा अर्धचेतन र पूर्णचेतन गरी दुई उपभेद छन् ।
अर्धचेतन सृष्टिमा ससाना हरिया पानी लेउदेखि अन्य असंख्य वनस्पति फूलादिका प्रजाति लगायत अरु पनि पर्दछन् ।

पूर्णचेतन सृष्टिमा दृश्य, अदृश्य, सूक्ष्म विषाणु तथा किटाणुदेखि लिएर सृष्टिका अन्य अनगिन्ती
जीवजन्तु एवम् मानवसम्मको उच्चकोटीका प्राणी पर्दछन् । वायुमण्डलमा वायुको व्यापक प्रवाहसरि विराट् ब्रह्माण्डको अणु, परमाणुदेखि जीवाणुसम्मका सृष्टिमा ईश्वरीय चमत्कार शक्ति अंशकला अर्थात् उर्जा, तरङ्ग, सौन्दर्यहरुको सर्वव्यापक फैलावट छ । त्यसैले
ईश्वरीय अस्तित्व र कला सर्वकालीन सर्वत्र सर्वस्वीकार्य छ ।

•कलाको गहनता

जल, थल र नभले घेरिएको यो सारा संसारमा जति पनि अद्भुत पदार्थ र प्राणी छन्, तिनका
भित्रीभागमा कलारूपमा व्यक्त अव्यक्त ब्रह्मको शक्ति स्थापित छ । अनन्त नभ अथवा नीलआकाशको दिव्यताको अपरिमेय खुला अथाह भागमा निरन्तर घुम्ती-यात्रा गर्ने विशाल भीमकाय भीषण काला मेघको उग्र गर्जनसहितको चमचमाहट विद्युत प्रवाहमा कलास्वरुप ब्रह्म विद्यमान छन् । यसैगरी निर्मल-जल, जीवनचक्रका चल, अचल, सचल एवम् चलाचल भन्न र गन्न नसकिने अगणतीय स्थूल सूक्ष्म जलजन्तुको चालढाल र रूपरंगमा पनि हरपल कलाधर विधाताको अविछिन्न समुपस्थिति बरोबर भेटिन्छ ।

थल क्षेत्रका कोटीकोटी कीट-पतंगादि सूक्ष्मातिसूक्ष्म जीव-चेतन तत्त्व, विशाल आकार प्रकारका
पशुप्राणी, हावामा कावा भर्ने साना-ठूला रंगीविरंगी चराचुरुङ्गी एवम् मानव जीवन तत्त्वका चालक परमात्माको यी सबैमा कलात्मक रूपमा हरहमेसा बास रहेको आभास मिल्छ । यही पृथ्वीमा अवस्थित अर्धचेतन गुल्म-लता पुष्पादिका सबै प्रजाति तथा ठोस-तरल जडपदार्थ र अरु शेष मानव उपयोगी अनुपयोगी लौकिक व्यवहारजन्य हरेक वस्तु र चिजबिजमा समेत ईश्वरकला रूपको समुपस्थिति महसुस हुन्छ ।

यसरी यिनका श्रव्य-दृश्य-स्पर्श-गन्ध तथा रस आदि गुणमा समेत जीवन्त रूपमा कलाब्रह्म दर्शन, अध्ययन चिन्तन, मनन र श्रवणको मिठो अनुभव गर्न सकिन्छ । सर्वव्यापक दैविक कला शक्तिको मिठो अनुभव चराचर जगतमा सर्वत्र लिन सकिन्छ । सितार, गितार, वंशी, मृदङ्ग तबला आदि जड वाद्ययन्त्रका गुन्जनमा पनि ईश्वरीय उपस्थिति झल्किन्छ । यसैगरी अर्धचेतन वृक्षशाखा घर्षणको सुरिलो आवाजका साथै ती वृक्षका हाँगापिँगाका चित्ताकर्षक घुम्टी नाच र इन्द्र धनुषी बहुरङ्गी फूलहरुका मुक्त हाँसोयुक्त नृत्यहरु ईश्वरीय कृपा विना यहाँ पनि सम्भव छैन ।

वन्यजन्तुका झुण्ड चालमा, घरपालुवा पशुका निश्चलभावमा त्यसैगरी घर्सिने जीव, कछुवा-सर्प आदिको नागवेली गतिको मन्द घर्षणमा पनि दैविक उपस्थितिको भाव-सङ्केत मिल्छ । वायुपङ्खी वेगमा खुला आकाशमा विचरण गर्ने पंछीका चिरबिर चिरबिर र कुहुकुहुको मिठासपूर्ण
धुनका साथै तिनका उन्मुक्त उडानको प्राकृतिक नृत्यकला र गायनकलामा उच्चकोटीको भाव र राग पाइन्छ । यी शाश्वत शान्तिका पछाडि पनि ईश्वर दाखिलाको आभास हरेकलाई मिल्छ । यसरी ब्रह्माण्ड सृष्टिका हरेक कणमा र ब्रह्मस्वरुप समयको हरक्षणमा तीनलोक चौध भुवन सबै ठाउँ भित्र कलारुपमा हरिदर्शन हुन्छ ।

जगत, जीवन र प्रकृतिका सूक्ष्मदेखि स्थूलसम्मका चेतन, अवचेतन हरेक वस्तु वा तिनका भित्री भावमा कला समेटिएको हुन्छ । चाहे त्यो अदृश्य अणु, परमाणु, किटाणु र विषाणु नै किन नहोस् । यस्तै रीतले दृश्य उज्ज्वल बालुवाका तिरमिर कण, माटोको उर्वरा, तरु-वृक्ष लहराका हराभरा र नदीनालाका गतिशील प्रवाह, विज्ञान प्रदत्त आधुनिक सञ्चार र निर्माणजस्ता उन्नत यन्त्रमा तथा विश्वकल्याण वैदिक मन्त्रमा समेत यत्रतत्र सर्वत्र `सत्यम शिवम सुन्दरम´ कला ब्रह्मरुपको न्यानो र मिठो सामिप्यताको प्रामाणिकता सिद्ध हुन्छ ।

•उपसंहार

यिनै ब्रम्ह ब्रम्हाण्ड नायकको अंशकला अथवा उर्जा, तरङ्ग र सौन्दर्यप्राप्त ईश्वर सिर्जित उच्च
जुनीको मानवले उनै ब्रम्हबाट असीमित शक्ति आर्जन गरेको हुन्छ । त्यो शक्ति भनेको विद्या, बुद्धि, विवेक र सत्- संस्कार हो । यिनै गुणको निरन्तरको साधनाले मानव विलक्षण प्रतिभाको पात्र बन्छ । यिनै पात्रमध्ये कतिपय अध्यात्मवादी योगी, भौतिकवादी भोगी र नकारात्मक सोचकाचाहिँ मानसिक र शारीरिक रोगी पनि बन्छन् ।

यसै क्रममा अरु पनि थरिथरिका युगनायक, अधिनायक, महानायक, अन्वेषक, आविष्कारक, सर्जक, विचारक, खेलाडी, राजनेता, अभिनेता, वास्तुकार, रंगकर्मी, कलाकार अथवा चित्रकार, व्यञ्जनकार, ताम्राकार, सूचीकार, शिल्पकार, चित्रकार आदि युग परिवर्तनका संवाहक बन्छन् ।

उल्लिखित परिच्छेदका विभिन्न विषय, विविध विधा, नाना क्षेत्र र अनेक कालखण्डका कलाका दिव्य नक्षत्रहरुको कलाब्रह्मरूपको प्रत्यक्ष अप्रत्यक्ष परिचय र कला महिमाको मानवीय व्यावहारिक पक्ष पोषणमा ठूलो देन रहेको छ । तसर्थ ब्रह्माण्ड महासागरका ईश्वर अंश कलाधारी यी कलाकार यो भूमण्डलका मानव सम्पदा हुन् । मानव सोच, संस्कार, सभ्यता, संस्कृति, सिर्जना र आविष्कारका अथक साधकका युगौँयुगको अनवरतको कला साधनाले नै मानवले कला महत्त्वको सत्यबोध, कला-प्रभावको लाभ तथा कला-उपलब्धीको यथेष्ट उपयोग, उपभोग र प्रयोग गर्न पाएको छ ।

कला चिन्तन, मनन र मन्थनबाट नै आजको मानव सभ्यताको विकास चरम उत्कर्षमा पुग्नुमा पनि मानव गौरव कला शिरोमणि ती तमाम ज्ञात-अज्ञात कला उपासकको अविस्मरणीय सत्-कर्मको नतिजा हो भन्दा अनिशयोक्ति नहोला । यस्ता हाम्रा पुर्खा राम्रा कर्म उपासक राष्ट्रिय अन्तर्राष्ट्रिय जगतका कला धरोहर पुस्तौँ पुस्तासम्म मानव मन मस्तिष्कमा सम्मानित चिर संस्मरणको अमर पात्रका रूपमा रहिरहनेछन् । साथै यिनैका कर्म सुवासनाले यो धर्ती चिरकाल पर्यन्त निरन्तर मगमग सुगन्धमय र सुवासनाको राग विगतमा थियो, हाल छ र सुदूर भविष्यसम्म पनि अटुट रहिरहने छ ।

त्यसैले उपर्युक्त मानव विभूतिहरु राष्ट्रिय घेराभन्दा बाहिरका विश्व मानव मनका देवदूत तथा शान्तिदूत हुन् । यस्ता धार्मिक, भौगोलिक, राजनीतिक, सामाजिक तथा वैज्ञानिक आदि विविध विधाका ईश्वर अंश कलाका उपासकहरु जाति, धर्म, क्षेत्र, लिङ्ग, वर्ण, वर्ग र रङ्गभेदभन्दा माथि उठेकाहरुको सदा सम्झना गर्नु हाम्रो धर्म हो र अन्तर्मनको मर्म पनि हो । कलाप्रतिको समर्पण र नमन पनि हो ।