
काठमाडौं, साउन २७ । कोरोना (कोभिड–१९) महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभावले नेपाल पर्यटन बोर्डको बजेट खुम्चिएको छ ।
वार्षिक रुपमा झण्डै २ अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ८२ करोड बराबरको बजेट विनियोजन गरेको छ ।
बोर्डको हालै बसेको सञ्चालक समितिको बैठकले अध्ययन/अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो ।
कोभिड–१९ महामारीका कारण पर्याप्त स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताउनुभयो ।
अहिलेलाई मुस्किलले ८२ करोड विनियोजन गरिएको र यसका लागि पनि स्रोत जुट्न हम्मे पर्ने देखिएको उहाँको भनाइ छ ।
कोभिड महामारीको परिस्थिति हेरेर पछि नयाँ कार्यक्रम पनि समावेश हुन सक्ने रेग्मीले उल्लेख गर्नुभएको छ ।
नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट १ अर्ब ६३ करोड थियो ।
प्रतिक्रिया दिनुहोस्