२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोमबारदेखि हराइरहेका पत्रकार बानियाँको शव मकवानपुरमा भेटियो


0
Shares

journalist balaram kantipur death

काठमाडौं, साउन २८ । सोमबार (तीन दिन) देखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ ।

कान्तिपुर दैनिकका सहायक सम्पादक पत्रकार बानियाँ मकवानपुरको भिमफेदी गाउँपालिका सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिनुभएको छ ।

परिवारका सदस्यलाई फोटो देखाएर शवको सनाखत गरिएको उहाँले जानकारी दिनुभएको हो ।
बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो ।

अपराध महाशाखाले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा उनको खोजी थालेको थियो । उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।

अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो । खोला किनारमा भेटिएको जुत्ता बानियाँकी छोरीले बुबाकै भएको पुष्टि गरेकी थिइन् ।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ ।

उनी तीन दिनदेखि परिवार साथीभाइ र कार्यालयमा सम्पर्कमा नरहेको भन्दै कान्तिपुर दैनिकले बुधबार बिहान उजुरी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभएको छ ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।