
काठमाडौं, साउन २८ । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उहाँले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको जिकिर गर्नुभयो ।
सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने र नेपाल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको गृहमन्त्री थापाको भनाई छ ।
यो प्रवृत्ति नहटदा सम्म सीमा समस्या रहिरहने उहांको भनाई थियो ।
गृहमन्त्री थापाले सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
सीमा सुरक्षाका लागि गृहले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले बताउनुभयो ।
उहाँले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने बताउनुभयो ।
गृहमन्त्री थापाले सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको उल्लेख गर्नुभयो ।
नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको र सोही आधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्