
काठमाडौं, जेठ २३ । साहित्यकार रामप्रसाद आचार्यको नयाँ कृति ‘अध्यात्मवाटिका’ बजारमा आएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा आचार्यद्वारा लिखित नवौं कृति अध्यात्मवाटिकाको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले लोकार्पण गरेका हुन् ।
अध्यात्मको बाटोले नै मानिसलाई आत्मिक सुख प्रदान गर्नसक्छ भन्दै लेखकले आफ्नो पुस्तकमा विभिन्न शीर्षकमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । लेखकले मूल्यमा आधारित समाज र सोच विकासमा पनि जोड दिएका छन् ।
विभिन्न आठ विषयमा लेखिएको निबन्धमा लेखक आचार्यले समाजमा भइरहेको बेथिति र त्यसले मानिसमा पारिरहेको प्रभावको उल्लेख गरेका छन् ।
मूल्य जीवन, मूल्य के हो ?, मूल्यमा आधारित समाज, आध्यात्मिकताको शिक्षण, आत्मबोध, आध्यात्मिक मूल्यधारित गुण, योग साधना ज्ञान–धारणा र सदाचारी समाज गरी आठ शीर्षकमा लेखकले निबन्ध प्रस्तुत गरेका छन् ।
पुस्तक दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशन गरेको हो । लेखकका यसअघि नेपाल बा, समुन्द्रपारि काज, मकैसिङ, सुवर्णभूमिका स्वर्णिम अनुभूति, आनन्दवनको आनन्द, हिमालपारि देशमालगायतका पुस्तक प्रकाशित भैसकेका छन् ।
कार्यक्रममा वक्ताहरुले लेखकले व्यवसायिक र अन्य भ्रमणका समयमा विदेश जाँदा पनि त्यहाँको अनुभवलाई समेटेर पुस्तक लेखेर साहित्यिक क्षेत्रलाई गुन लगाएको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्