
काठमाडौं, साउन ३२ । चिकित्सा शिक्षा सुधार क्षेत्रमा सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै फेरि अनशन बस्ने घोषणा गर्नुभएका डा. गोविन्द केसीले दश दिनका लागि स्थगित गर्नुभएको छ ।
सम्झौता कार्यान्वयन गर्न शनिबारसम्मको समय दिनु भएका डा. केसीले माग पूरा नभए आइतबारदेखि फेरि सत्याग्रह गर्ने घोषणा गर्नुभएको थियो ।
डा.केसीले नागरिकले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगित गरिएको जनाउनुभएको छ ।
जुम्मामा हुनुभएका डा. केसीले विज्ञप्ति निकाली आफूले दिएको तीन हप्ताको समयमा सरकारले माग पूरा नगरेको भन्दै अब १० दिन समय दिने र पूरा नभए सत्याग्रह थाल्ने चेतावनी दिनुभएको हो ।
डा. केसीले भन्नुभएको छ, ‘‘हाल सबै नागरिकहरुले भोग्नु परिरहेको चौतर्फी विपत्तिप्रति संवेदनशील हुँदै हामीले आजदेखि घोषणा गरेको सत्याग्रहको कार्यक्रम १० दिनका लागि स्थगन गरेका छौं । सरकारले माग पूरा नगरेको खण्डमा यही भाद्र ११ गतेदेखि सत्याग्रह शुरु गर्ने जानकारी पनि दिन चाहन्छौं ।’
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न र तत्काल स्नातकोत्तर तहको अनुमति प्रदान गर्न माग गर्नुभएको छ ।
गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु¥याएर पठनपाठन थाल्न, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया थाल्न पनि माग गर्नुभएको छ ।
आफूसँग २०७५ साउन १० गते गरिएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न पनि उहाँको माग छ ।
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न र विश्वविद्यालय, मेडिकल काउन्सिल र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न पनि माग गर्नुभएको छ ।
केसीले बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निःशुल्क सेवा सुनिश्चित गर्न पनि माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्