
दिपेन्द्र अधिकारी, राजेन्द्र नापित र सुयश मानन्धर (इमेज)
काठमाडौं, साउन ३२ । बेलायतको क्याम्ब्रिज विश्वविद्यालयले परीक्षा लिन नसक्ने अवस्थामा सम्बन्धित कलेजले विद्यार्थीको मुल्याङ्कन गर्ने भनेपनि फरक नतिजा प्रकाशन गरेपछि शिक्षक, विद्यार्थी तथा अभिभावकले विरोध गरेका छन् ।
विश्वविद्यालयले भने आगामी मंगलबारसम्ममा निर्णय दिने जनाएको छ ।
क्याम्ब्रिज विश्व विद्यालयको ए लेभलको नतिजा अस्वभाविक रहेको भन्दै विद्यार्थी, शिक्षक तथा अभिभावक असन्तुष्ट छन् । विश्व विद्यालयले जुन महिनामा हुनुपर्ने परीक्षा कोरोना भाइरसका कारण हुन नसक्ने भन्दै सम्बन्धित कलेजलाई नै विद्यार्थीको मुल्याङ्कन गर्न निर्देशन दियो ।
सोही आधारमा नेपालका ए लेभल कोर्ष पढाउने कलेजहरुले विद्यार्थीको मुल्यांकन गरि पठाएका थिए ।
तर, विश्वविद्यालले पठाएको नतिजा र कलेजले पठाएको प्राप्ताङ्क फरक भएको र अनुत्तिर्ण समेत गरेका कारण विद्यार्थीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् ।
ग्रेडिङ अन्यायपूर्ण रहेको भन्दै उनीहरुले पुनः न्यायपूर्ण नतिजा प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।
मेहनत, शुल्क र समय खेर गएकोमा भन्दै उनीहरुले अन्याय भएको बताइरहेका छन् । उता अभिभावकहरुले पनि अनुत्तिर्ण गर्नु अस्वाभाविक भन्दै निष्पक्ष रुपमा नतिजा आउनुपर्ने माग गरेका छन् ।
शिक्षकहरुले भने विश्वविद्यालयले पहिले भनेअनुसार मुल्याङ्कन नगरेकोमा मुल्याङ्कनको आधार खोजिरेका छन् ।
क्याम्ब्रिज विश्व विद्यालयकाको नतिजालाई लिएर विश्वका अन्य देशहरुमा पनि विरोध भइरहेको छ भने स्कटल्याण्डमा विरोध प्रदर्शन पछि विद्यार्थीको नजिता पुनरावलोकन गरिएको छ ।
नेपालमा ५ हजारको हाराहारीमा ए लेभलमा विद्यार्थी अध्ययनरत छन् ।
क्याम्ब्रिज विश्वविद्यालयको सम्बन्धनमा संचालित ए लेभल कोर्षको परीक्षा र तालिम संचालन तथा अनुगमन गर्दे आएको ब्रिटिस काउन्सिलले भने आगामी मंगलबारसम्ममा विश्वविद्यालयले समस्याको सुनुवाई गर्ने जनाएको छ ।
विद्यार्थीहरु भने निष्पक्ष नतिजा नआएसम्म विरोधको कार्यक्रम जारी राख्ने पक्षमा छन् ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्