१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


तरलता बढ्दा ब्याजदर घट्यो, अझै ब्याजदर घट्न सक्ने : बैंकर्स संघ


0
Shares

काठमाडौं, भदौ १ । चालु आर्थिक वर्ष सुरु भएयता अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन् ।

पछिल्लो समय बैंकमा लगानी योग्य रकम थुप्रिन थालेपछि कर्जा प्रवाहमा कमी आएकाले पनि बैंकहरु कर्जादर घटाउन बाध्य भएका हुन् ।

अहिले बैंकिङ प्रणालीमा निक्षेप संकलन बढी र कर्जाको माग कम हुँदा अधिक तरलता कायम भएको छ ।

यतिखेर बैंकहरुमा २ खर्ब २ अर्ब बराबर कर्जा प्रवाह योग्य रकम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैशाख १६ पछि असार मसान्तसम्म ब्याजदर २ प्रतिशत विन्दुसम्मले घटाउन वाणिज्य बैंकलाई निर्देशन नै दिएको थियो ।

तर अहिले वाणिज्य बैंकले कर्जा प्रवाह बढाउन ब्याजदर घटाउन थालेका हुन् ।

राष्ट्र बैंकका अनुसार अन्य समयमा मासिक रुपमा १ खर्ब २० अर्ब बराबरको वस्तु आयात हुने गथ्र्याे तर अहिले आयात घटेर १ खर्ब पनि पुग्न सकेको छैन ।

अर्काेतिर पूर्वाधार सँग सम्बन्धित विकास निर्माणका काम पनि ठप्प भएका कारण बैंकमा रकम थुप्रिन गएको हो ।

नेपाल बैंकर्स संघले वाणिज्य बैंकको ब्याजदर घटाएर एकल बिन्दुमा झारिएको जनाएको छ ।

कोरोना त्रासका कारण लगानीकर्ता लगानीमा विश्वास गर्न सक्ने अवस्थामा नपुगेकोले कर्जा प्रवाह हुन नसकेकोले बैंकले कर्जा प्रवाहमा ब्याजदर घटाउने नीति अनुसार नै ब्याजदर घटिरहेको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताउनुभयो ।

अहिले मुद्धती खातामा दिईने ब्याजदर पनि घटेको छ ।

अघिल्ला वर्षमा व्यक्तिगत खातामा दिईने कर्जा ब्याजको आधारदर साढे ९ प्रतिशत थियो तर यस वर्ष साढे ८ प्रतिशतमा खुम्चिएको छ ।

यसले कर्जाको ब्याजदर मात्रै होईन निक्षेपको ब्याजदर पनि घट्ने शर्माले जानकारी दिनुभयो ।

यस्तै नै अवस्था आए ब्याजदर अझै घट्न सक्ने शर्माको भनाई छ ।