
काठमाडौं, भदौं २ । राष्ट्रिय झण्डा जलाउन संलग्न एक जनालाई प्रहरीले पक्रेको छ ।
राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउन संलग्न ‘क्यामेराम्यान’ लाई पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्रेको जनाइएको छ ।
पक्राउ परेका ‘क्यामेराम्यान’ को परिचय खुलाइएको छैन । भिडिओका गायक भने गेल्जङ दोर्जे तामाङ हुन् र उनलाई प्रहरीले खोजिरहेको छ ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक गरिएको थियो जसमा भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाउँछन् ।
चौतर्फी विरोध भएपछि अनुसन्धान थालेको महानगरीय अपराध महाशाखाले एक जनालाई पक्रेको हो ।
म्युजिक भिडिओ भने मकवानपुरको बागमति गाउँपालिका ३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ ।
प्रहरीले भिडिओ शेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न ।
कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजायँ, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ ।
प्रतिक्रिया दिनुहोस्