२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना संक्रमण दर उच्च भएपछि निषेधाज्ञा जारी गर्दै विभिन्न जिल्लाहरु


0
Shares

जिल्ला ब्युरो, भदौ २ । कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा मंगलबार रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो ।

अर्घाखाँचीमा बुधबारदेखि लागु हुने गरी १ हप्ताका लागि लकडान हुने भएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयोजनमा भएको सर्बपक्षिय बैठकले १ हप्ता लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै पाल्पाको रामपुर नगरपालिका भित्र भिडभाड बढ्न थालेपछि मंगलबार राती १२ बजेदेखि कडाई गरिने भएको छ ।

नगरभित्र मास्क, स्यानीटाइजरको प्रयोग नगरिकन बजार क्षेत्रमा भिडभाड बढ्दै गएपछि दश दिन सम्मका लागि अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द गरिने भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिकामा लकडाउन थप गरिएको छ ।

मंगलबार बसेको कार्यपालिकाको बैठकले संक्रमण बढेसंगै भदौ १० गते सम्मका लागि लकडाउनको समय थप गर्ने निर्णय गरेको हो ।

धरानमा विदामा आएका भारतीय सेनामा कार्यरत नेपाली र ट्राभलहिष्ट्रि नभएकाहरुलाई समेत संक्रमण देखिन थालेपछि उपमहानगरपालीकाले लकडाउनको समय थप गर्ने निर्णय गरेको मेयर तिलक राईले जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढ्दै गएपछि बागलुङको बाग्लुङ नगरपालिका पनि आज रातिदेखि लागुहुनेगरी निषेधाज्ञा जारी गरिने भएको छ ।

नगरपालिकाको विभिन्न वडाहरुमा समुदाय स्तरमा संक्रमण देखिएपछि एक साताकालागि निषेधाज्ञा गर्न लागिएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभएको छ ।