३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


प्रधानमन्त्री ओलीले फिर्ता लेलान् गुठी विधेयक ?


0
Shares

काठमाडौं, असार २ । आफ्नो सरकारले ल्याएको विधेयकहरु  एकपछि अर्काे गर्दै विवादित बनेपछि तनाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले उपत्यकाका सांसदहरुसँग छलफल गर्दैछन् ।

पछिल्लो पटक गुठी विधेयकमा आफ्नै पार्टीका सांसद पनि विरोधमा उत्रिएपछि उनी तनाबमा परेका हुन् । यो विधेयकको विरोधमा प्रतिपक्षी कांग्रेसले त सदनदेखि सडकसम्म आवाज उठाइरहेकै छ ।

काठमाडौंका आदिवासी रैथानेहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोध गर्दा प्रतिरोधमा उत्रिएको सरकार अहिले भने केही गलेको झै देखिएको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गुठी सामन्तवादको अवशेष भएको भन्दै विधेयकको विरोध गर्नेहरुको आलोचना गरेपछि परिस्थिति झन् भड्को थियो । 

आफु विदेशमा रहेका बेला गुठी आन्द्योलन चर्केकामा स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओलीले सरोकार सम्बोधन गरिने बताएका थिए । त्यसैको पहलस्वरुप आज उपत्यकाका सांसदहरुसँग छलफल गर्न लागेका हुन् । छलफलमा गुठीयारहरुलाई पनि आमन्त्रण गरिएको छ ।

यसअघि उनले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग जानकारी लिएका थिए ।

प्रधानमन्त्री विदेशमै हुँदा मन्त्री अर्यालले पनि विधेयकको विरोध गरिरहेका काठमाडौंका गुठियार र जनप्रतिनिधिसँग छलफल गर्दै सच्याउने बचन दिएकी थिइन् ।

छलफलमा प्रधानमन्त्रीले काठमाडौंमा सांसद, मेयर, केही वडाध्यक्ष र गुठियारलाई बोलाएका हुन् । सत्तारूढ नेकपाका सांसद योगेश भट्टराईले गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले सक्रियता बढाएकाले साँझसम्ममा राम्रो परिणाम आउने जनाएका छन् ।

राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले आफ्नो परम्परा मास्न खोजेको भन्दै उपत्यकाका तीनै जिल्लाका नेवार समुदाय आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दैनिक विरोध प्रदर्शन गरिरहेका छन् ।