
काठमाडौं, भदौ ५ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षणका लागि अहिलेसम्म ३ अर्बभन्दा बढी खर्च भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पिसिआर परीक्षणको लागि सरकारले ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको जानकारी दिनुभएको हो ।
हालसम्म ५ लाख ७९ हजार ८ सय ९९ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।
सरकारले एकजनाको पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ रकम खर्च गर्दै आएको छ ।
अहिलेसम्म गरिएको परीक्षणमा शुक्रबारसम्म ३० हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको जानकारी दिनुभयो ।
यस्तै आईसीयूमा राखेर उपचार गर्दा झनै बढी खर्च हुने मन्त्रालयले जनाएको छ ।
एक जना मानिसलाई ३० दिन आईसीयूमा राख्दा चार लाख ५० हजार रुपैयाँ खर्च हुने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
कोरोना भाइरसकाे परीक्षण र उपचार दुवै ज्यादै महँगो हुने भएकोले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरेर सङ्क्रमण हुनै नदिन मन्त्रालयले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्