१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुसी विपक्षी नेता नाभल्नीलाई कोमामै लगियो जर्मनी


0
Shares

Russia putin navalny poision

एजेन्सी, भदौं ६ । गम्भीर अवस्थामा रहेका रुसी राष्ट्रपति भ्लादिमीर पुटिनका कट्टर आलोचक एवं विपक्षी नेता एलेक्सी नाभल्नीलाई एयर एम्बुलेन्सबाट जर्मनी लगिएको छ ।

चियामा विष दिएर कोमामा पुर्‍याइएको आशंका गरिएका नाभल्नीलाई विशेषज्ञ उपचारका लागि जर्मनीको राजधानी बर्लिन लगिएको हो ।

उहाँलाई विषयुक्त चिया खुवाएर यो अवस्थामा पुर्‍याइएको आशंका नाभल्नीका समर्थकहरुले गरिरहेका छन् । नाभल्नीका परिवारले रुसी अधिकारीहरु माथि अपराध लुकाएको आरोप लगाएका छन् ।

नाभल्नीको पत्नी र उहाँका समर्थकहरुको आग्रहमा जर्मनीका चिकित्सकको एक टोली शुक्रबार एक विशेष विमानसहित साइबेरियाली शहर ओम्सस्थित नाभल्नी उपचाररत अस्पताल पुगेका थिए ।

नाभल्नीलाई राखिएको अस्पतालमा एकदमै कम सुबिधा रहेको र उपचार सही रुपमा हुन नसकेको उहाँको परिवारले बताएपछि विशेषज्ञ उपचारका लागि जर्मनी लगिएको हो ।

विमानमा नाभल्नीकी पत्नी युलिया र उहाँकी प्रवक्ता किरा यारमिश पनि रहेको जनाइएको छ ।

बिहीबार बिहान टम्सकबाट विमानमा मस्को फर्किरहेका बेला उहाँ एक्कासी विरामी भएपछि आकस्मिक रुपमा ओम्समा विमान अवतरण गराई उहाँलाई अस्पताल लगिएको थियो ।

जर्मनीको ‘सिनेमा फर पीस’ ले नाभल्नीलाई बर्लिन लैजान हवाई एम्बुलेन्सको बन्दोबस्त मिलाइदिएको जनाइएको छ ।

यसअघि जर्मनी र फ्रान्स दुबै देशले एलेक्सी नाभल्नीको उपचार गर्नमा खुशी हुने जनाएका थिए ।

जर्मन चान्सलर एञ्जेला मर्केलले नाभल्नीका लागि जस्तोसुकै स्वास्थ्य सहयोग गर्न जर्मनी तयार रहेको बताउनुभएको थियो ।

राष्ट्रपति पुटिनका एक प्रवक्ताले पनि नाभल्नीलाई आवश्यक परेका विदेश जाने व्यवस्था मिलाउन तयार रहेको जनाएका थिए ।

राष्ट्रपति पुटिन सत्ताले रुसमा गरिरहेको भ्रष्टाचारको कट्टर आलोचक नाभल्नीले गत जूनमा संवैधानिक सुधारका नाममा गराइएको मतदानलाई संविधानको ठाडो उल्लंघन भएको बताउनुभएको थियो ।

सोही जनमत संग्रहको बहानामा पुटिनलाई अरु दुई कार्यकाल फेरि राष्ट्रपति बन्ने बाटो खुलाइएको छ ।

भ्रष्टाचारविरुद्ध अभियानमा रहेका नाभल्नीले पुटिनको यूनाइटेड रसिया पार्टीलाई ‘बदमाश र चोरको पार्टी’ भन्ने गर्नभएको छ । पुटिन सत्ताले उहाँलाई कयौं पटक जेल पठाइसकेको छ ।

२०१३ मा जेल पठाइएका उहाँलाई सन् २०१८ भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार नै बन्न दिइएन ।

फेरि सन् २०१९ जुलाईमा अनधिकृत रुपमा विरोध प्रदर्शन गरेको आरोपमा एक महिना जेल हालिएको थियो ।

जेलमै हुँदा पनि उहाँ स्वास्थ्य नराम्ररी बिग्रिएको थियो । त्यही बेला पनि उहाँलाई विष दिइएको आशंका गरिएको थियो ।

सन् २०१७ मा त उहाँमाथि घातक आक्रमण नै गरिएको थियो । जसका कारण उहाँको आँखामा समस्या भएको थियो ।

पुटिन सरकारले नाभल्नीको एन्टी करप्सन फाउण्डेशनलाई विदेशी एजेन्ट नै घोषित गर्दिएको छ ।