३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


देउवाको दलीलः ‘प्रधानमन्त्रीले बोल्ने होइन जवाफ दिने हो’


0
Shares

काठमाडौं, असार ३ । प्रधानमन्त्री र प्रतिपक्षी दलको नेता मध्ये संसदको बैठकमा पहिले कस्ले बोल्ने भन्ने गलफतीमा संसद बैठक नै रोकिएपछि दुबै पक्षले आफु सही भएको तर्क गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद सरकार र प्रतिपक्षीबीचको गलफतीले सदन नै स्थगित भएपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्रीले बोल्ने नभई प्रतिपक्षीलगायतले उठाएका विषयको जवाफ दिने तर्क गरे ।

प्रधानमन्त्रीले बोली सकेपछि आफु बोल्नुको कुनै तूक नहुने भन्दै देउवाले सदनमा जहिले पनि विपक्षीले पहिले बोल्ने हो, सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले भने “प्रधानमन्त्रीले बोल्ने होइन, जवाफ दिने हो । पहिले उहाँले बोलिसकेपछि के बोल्ने मैले ? बोल्ने भए हिजो पनि बोल्थे नि, प्रधानमन्त्रीलाई सुनाउनु थियो आज । जहाँपनि विपक्षीले पहिले बोल्ने हो । जवाफ प्रधानमन्त्रीले दिने हो । सुरुमा कहाँ बोल्छन् ?”

मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि उनले भने, प्रधानमन्त्रीले बोल्ने नभई जवाफ दिने हो र अन्तर्राष्ट्रिय अभ्यास पनि त्यस्तै भएको दाबी गरे ।

सत्ता पक्षीय नेताहरुले भने प्रधानान्त्रीले संसदलाई सम्बोधन गर्छु भन्दा बोल्न नदिनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् । नेकपा नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिएर ठीक नगरेको बताए ।

उनले कांग्रेसले संसदीय परम्परा नमानेर गलत नजिर बसाल्न खोजेको आरोप लगाए । उनले भने, “संसदीय परम्पराअनुसार प्रधानमन्त्रीले बोल्छु भनेपछि प्रतिपक्षीले सुन्नुपर्छ । त्यसपछि प्रतिपक्षी दलले आफ्ना धारणा राख्न पाउँछ ।”