१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मीप्रति दुव्र्यवहार गर्नेलाई तत्काल कारवाही गर्न साझा पार्टीको माग


0
Shares

काठमाडौं, भदौ ७ । साझा पार्टीले कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौंसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले आइतबार एक विज्ञप्ति मार्फत हालको जनस्वास्थ्य सङ्कटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा समेत अहोरात्र बिरामीको सेवामा खटिईरहेका स्वास्थ्यकर्मीको उच्च सम्मान गरिनुपर्नेमा उल्टै छरछिमेकबाट सामाजिक विभेद तथा दुव्र्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको जनाएको छ ।

विपद्को यस घडीमा उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै समाजको हरेक अर्को सदस्यको कठिनाईमा सक्दो सहयोग गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ ।

यस्तो विषम परिस्थितिमा चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सबै नागरिकले त्यसो गरेमा मात्र कोभिड–१९ विरुद्धको साझा लडाईँ केही सहज हुने सो पार्टीले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुव्र्यवहार र भेदभावजन्य कृयाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारवाही सुनिश्चित गर्न पार्टीले सरकारसँग माग गरेको छ ।