
काठमाडौं, भदौ ७ । गैरआवासिय नेपाली संघ (एनआरएनए) ले सरकारले सशर्त खुला गर्न लागेको अन्तराष्ट्रिय नियमित उडानलाई व्यवहारिक र व्यवस्थित गर्न सरकार समक्ष माग गरेको छ ।
गत शुक्रबारको मन्त्रीपरिषद् बैठकले अलपत्र नेपालीलाई भदौ १६ पछि नियमित उडान मार्फत स्वदेश फिर्ता गर्ने निर्णय गरेको थियो ।
बैठकले विदेशबाट फर्कने नागरिकले विदेशबाटै पिसिआर जाँच गरेको प्रमाण तथा होटल समेत बुक गरेर ७ दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्ने व्यवस्था सहित नियमित उडान मार्फत स्वदेश फिर्ता गर्ने निर्णय गरेको थियो ।
यस्तै संघले विदेशमा रहेका गैरआवसिय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेको छ ।
पछिल्लो पटकको निर्णयमा गैरआवासिय नेपाली स्वदेश फर्काउनका लागी कुनै सम्बोधन नभएकोले संघले स्वदेश फिर्ताको लागि आग्रह गरेको हो ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार हाल सम्म ५१ हजार ४ सय ४१ नेपालीको उद्धार गरिएको छ ।
८० हजार बढि वैदेशिक रोजगारीमा रहेका नेपाली नेपाल फर्कन चाहेको पनि संघले जनाएको छ ।
यस्तै संघ अन्तर्गतको स्वास्थ्य समितिले विभिन्न १६ देशमा हालसम्म १ सय ९२ नेपालीको निधन भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्