
काठमाडौं, भदौ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले काठमाडौं उपत्यकामा कोरोना संक्रमण व्यापक बनिरहेकोमा चिन्ता व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका मेयरलाई भेटेर सुझावहरु दिनुभएको छ ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै सांसद थापाले मेयरसहित काठमाडौं महानरपालिकाको ध्यानाकर्षण गराउनुभएको हो ।
सोमबार विहान महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई भेटी बढ्दै गएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसँग नियमित संवाद र समन्वय गरी सहयोग लिन सुझाव दिनुभयो ।
महानगरभित्र परीक्षणको दायरा साँघुरो रहेको र कन्ट्याक्ट ट्रेसिङ पनि सुस्त भएको भन्दै थापाले यसलाई चुस्त बनाउन आवश्यक जनशक्ति थप गर्न मेयरसँग आग्रह गर्नुभयो ।
अस्पतलाको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व भएपनि आइसोलेशनको जिम्मा स्थानीय सरकारको भएकाले काठमाडौंका अन्य गरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेशनको व्यवस्थापन गर्न पनि उहाँको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्