२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘अरुले सक्दैनन्, मैले मात्र देउवालाई हराउन सक्छु’ : शशांक कोइराला


0
Shares

neplai congress shashank

काठमाडौं, भदौं ८ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने उद्घोष गर्दै शेरबहादुर देउवालाई आफूले मात्र पराजित गर्न सक्ने दाबी गर्नुभएको छ ।

पार्टी सभापतिमा अरु धेरै नेताले दावी गरिरहे पनि महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुँदा मात्रै देउवालाई पराजित गर्न सकिने दाबी कोइरालाले गर्नुभयो ।

देउवालाई पराजित गर्नकै लागि आफूले सभापतिमा दाबी गरिरहेको पनि उहाँले उल्लेख गर्नुभयो । जबकी कोइराला परिवारबाटै उहाँका दाजु डा. शेखर कोइरालाले पनि सभापतिमा दाबी गर्नुभएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दाबी गरेको महामन्त्री कोइरालाले बताएको न्यूज एजेन्सी नेपालले उल्लेख गरेको छ ।

संस्थापनका धेरै नेताले सभापतिको उम्मेदवारीका लागि दाबी गरिरहेको भन्दै कोइरालाले पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहको पनि इच्छा रहेको बताउनुभयो ।

देउवालाई हराउने हो सबै मिल्नुको विकल्प छैन भन्दै कोइरालाले भन्नुभयो, ‘व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुरजीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाइले पनि सक्नुहुन्न । अरुले पनि सक्दैन । ग्यारेण्टीका साथ भन्छु शेरबहादुरजीलाई हराउने व्यक्ति म बाहेक अरु छैन ।’

सभापति देउवाले महाधिवेशनको मुखमा विभागहरु गठन गरेर मनोमानी गरेको भन्दै कोइरालाले यसको जवाफ महाधिवेशनबाट दिइने दृढता देखाउनुभयो । फागुन ७ देखि नै महाधिवेशन गर्ने पक्षमा आफू रहेको पनि उहाँले बताउनुभयो ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेका कोइरालाले देउवासँग साँठगाँठ गरेर महामन्त्री जितेको आरोप उहाँकै पक्षमा लाग्ने गरेको छ ।

१३ औं महाधिवेशनमा पौडेल देउवासँग पराजित हुँदा दोस्रो चरणको मतदानमा सिटौला पक्षले पनि देउवालाई नै सघाएको थियो ।